अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा नियुक्त, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतनामा सहभागि हुने

मेदान्त आयुर्वेद अस्पतालले नेपाली सिने जगतकी प्रख्यात अभिनेत्री रेखा थापालाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । शनिबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता एक वर्षसम्म कायम रहने बताइएको छ । यो सम्झौतासँगै अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउने अस्पतालले जनाएको छ ।

अभिनेत्री थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई पुर्‍याउँदै आएको सेवा र उपचार पद्धति अत्यन्तै प्रशंसनीय र मन छुने भएकाले आफू यस संस्थाको ब्रान्ड एम्बास्डर बन्न तयार भएको बताइन् । ‘परम्परागत र प्राकृतिक चिकित्सा पद्धतिलाई सर्वसुलभ रूपमा जनमानसमा लैजाने अस्पतालको उद्देश्यलाई सघाउन पाउनु गौरवको कुरा हो,’ उनले भनिन् ।

विगत लामो समयदेखि सर्वसाधारणलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको मेदान्त आयुर्वेद अस्पतालले मात्र एक सय रुपैयाँमा ओपिडी सेवा उपलब्ध गराउँदै आएको अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले जानकारी दिए । विपन्न तथा सर्वसाधारण नागरिकले पनि सहजै उपचार पाउन सकून् भन्ने उद्देश्यले अस्पतालले यस्तो सहुलियत दर निर्धारण गरेको उनले बताए ।

‘प्रतिष्ठित अभिनेत्री रेखा थापा जस्तो जनप्रिय व्यक्तित्वसँगको सहकार्यले अस्पतालको सेवा प्रवाह र विश्वसनीयतालाई आम नागरिकमाझ थप व्यापक बनाउन ठूलो टेवा पुग्ने विश्वास लिएका छौं,’ डाक्टर पौडेलले भने ।

अभिनेत्री थापासँगको साझेदारीले आगामी दिनमा अस्पतालको ब्रान्ड भ्यालु बढाउनुका साथै धेरै भन्दा धेरै बिरामीलाई आयुर्वेदिक उपचार तर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अस्पताल प्रशासनले अपेक्षा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार