परीक्षा सकिएको ४५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । विगतमा नतिजा प्रकाशनका लागि करिब तीन महिना लाग्ने गरेकोमा यसपटक प्रक्रियामा सुधार गर्दै बोर्डले छिटो नतिजा दिने लक्ष्य राखेको हो ।

बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ । कामलाई छिटो छरितो बनाउन उत्तरपुस्तिका परीक्षणसँगै सम्परीक्षण र प्राप्तांक कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ ।

यसअघि नतिजा सार्वजनिक गर्न सामान्यतया तीन महिना लाग्ने गरेकोमा यसपटक परीक्षा सकिएकै दिनदेखि काम सुरु गरिएको थियो । बोर्डले हालै एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरेर रेकर्ड बनाएको थियो । यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १८ हजार परीक्षार्थी सहभागी भएका छन् ।

बोर्डको यस कदमले उच्च शिक्षा अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार