इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पले बताएका छन् ।

अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए । उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए ।

ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन् ।

प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ ।

वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने हो ।

‘अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ,’ ट्रम्पले भनेका छन् ।

सम्झौताअन्तर्गत इरानले हर्मुज अस्थायी रूपमा खोल्ने र युद्धविरामको वातावरण बनाउने, त्यसको बदलामा अमेरिकाले इरानमाथिको केही प्रतिबन्ध सहज बनाउने तथा वार्ता जारी रहने अवधिमा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने चर्चा छ ।

तर यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षले अन्तिम सहमतिका लागि विस्तृत वार्ता जारी राख्नेछन् । न्युयोर्क टाइम्सका अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने प्रारम्भिक सहमति जनाएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको आकलन छ ।

त्यस युरेनियम भण्डारलाई कसरी हस्तान्तरण वा व्यवस्थापन गर्ने भन्ने प्राविधिक विषय भने अझै टुंगिएको छैन र यो विषय आगामी चरणको वार्तामा तय हुने बताइएको छ ।

अमेरिकी अधिकारीहरूले यो मुद्दालाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक बिन्दुका रूपमा लिएका छन् । सम्झौताप्रति इसराइलमा भने चासो र चिन्ता दुवै देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार