जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जालसान)को नेतृत्वले नेपालका लागि जापानीज राजदूतावासको उच्च अधिकारीसँग औपचारिक भेटघाट तथा छलफल गरेको छ ।
जालसानका अध्यक्ष रमेश देवकोटा तथा महासचिव अरुण पाण्डेले दूतावासको जनसम्पर्क तथा संस्कृति विभागका प्रथम सचिव हारा नोएरुसँग शैक्षिक परामर्श क्षेत्रको पछिल्लो परिस्थितीबारे छलफल गरेको हुन् ।
भेटघाटका क्रममा नेपाल सरकारद्वारा हाल शैक्षिक परामर्श क्षेत्रमा भइरहेको निरीक्षण तथा अनुगमन सम्बन्धी विषयमा जापानीज राजदूतावासले चासो राखेको बताइएको छ । उक्त चासोका सन्दर्भमा जालसानको तर्फबाट वर्तमान परिस्थितिबारे विस्तृत र स्पष्ट जानकारी गराइएको जालसानले जनाएको छ ।
छलफलका क्रममा नेपाल–जापान बीचको शैक्षिक तथा दौत्य सम्बन्धलाई अझ बढी व्यवस्थित, विश्वसनीय, पारदर्शी एवं प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाइएको छ। यसका लागि आगामी दिनहरूमा समेत आपसी सहकार्य, समन्वय तथा संवादलाई निरन्तरता दिने निर्णय गरिएको जाल्सानका अध्यक्ष देवकोटाले बताए । ‘जापानी राजदूतावासको निमन्त्रणामा भएको भेटघाट र छलफल अत्यन्तै सौहार्दपूर्ण एवं फलदायी रह्यो,’ उनले भने, ‘सरकारले हाल शैक्षिक परामर्श क्षेत्रमा गरिरहेको अनुगमनलाई दूतावासले निकै चासोका साथ हेरेको रहेछ, जसलाई हामीले सत्य र यथार्थ वस्तुस्थितिबारे जानकारीसमेत दियौं ।’
त्यस्तै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई पारदर्शी र विश्वसनीय बनाउन जालसान सधैँ प्रतिबद्ध रहेको जानकारी गराइएको महासचिव अरुण पाण्डेले बताए । आगामी दिनहरूमा समेत आपसी सहकार्य, समन्वय तथा संवादलाई निरन्तरता दिने विषयमासमेत छलफल गरिएको उनले जानकारी दिए ।






प्रतिक्रिया