नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्श क्षेत्रमा आबद्ध संस्थाहरूमाथि झुटा आरोप लगाएर बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बुधबार आयोजित ‘शैक्षिक परामर्श क्षेत्रको नियमन र सुरक्षाः कानुनी प्रक्रिया र संस्थागत सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले केही विद्यार्थीहरूले सामाजिक सञ्जाल र मिडियाको दुरुपयोग गर्दै परामर्शदाता संस्थाहरूमाथि अनावश्यक दबाब सिर्जना गरिरहेको गुनासो गरे ।
अध्यक्ष पौडेलले सरोकारवाला निकायहरूले सधैं विद्यार्थीका मात्रै गुनासा र उजुरी सुन्ने गरेको तर समस्यामा परेका कन्सल्टेन्सीहरूको सुनुवाइ कतै नभएको उल्लेख गरे । ‘कुनै दोष नभए पनि मिडिया र युट्युबरको धम्की दिएर संस्थाहरूलाई दबाबमा पार्ने काम भइरहेको छ,’ उनले भने, ‘विगत दुई दशकदेखि इमान्दारितापूर्वक व्यवसाय गर्दै आएका र इन्डस्ट्रीमा राम्रो पहिचान बनाएका अर्गनाइजेसनहरू आज धम्कीकै कारण नगरेको गल्ती पनि स्वीकार्न बाध्य पारिएका छन् ।’
उनले विद्यार्थीहरूले मिडियाको आड लिएर संस्था र शिक्षकहरूमाथि झुटा लाञ्छना लगाउने गरेकाले व्यवसाय गर्ने वातावरण नै धमिलिएको समेत गुनासो गरे ।
अध्यक्ष पौडेलले यस्ता गैरकानुनी र धम्कीपूर्ण कार्यहरू रोक्नका लागि कन्सल्टेन्सीहरूले कहाँ र कसरी उजुरी गर्ने भन्नेबारे स्पष्ट कानुनी संयन्त्र आवश्यक रहेको औंल्याए । उनले आगामी दिनमा प्रहरी प्रशासनसँग नजिकबाट सहकार्य गरेर यस्ता उजुरीहरूको सही र निष्पक्ष सुनुवाइ हुनुपर्नेमा जोड दिए।
शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउनका लागि राज्यले कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने धारणा समेत उनले सो अवसरमा व्यक्त गरे ।






प्रतिक्रिया