समग्र शैक्षिक परामर्श क्षेत्रलाई ‘शंका र अपराधीकरण’ नगर्न नेकाको आग्रह

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले वैदेशिक अध्ययन, शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय शैक्षिक गतिशीलताको क्षेत्रमा क्रियाशील संस्थाहरूमा सरकारी निकायबाट भइरहेको पछिल्लो अनुगमन र अनुसन्धानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय र प्रशासनिक संयन्त्रबाट भइरहेका यस्ता नियमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको स्पष्ट पारेको छ ।

नेकाका अध्यक्ष भूपेन्द्र सिटौलाद्वारा जारी प्रेस विज्ञप्तिमा विद्यार्थी र अभिभावकको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता, र वित्तीय अनुशासन कायम गर्ने नीतिगत पहलहरूमा संघको सदैव सहयोग रहने प्रतिबद्धता जनाइएको छ ।

संघले शिक्षा क्षेत्रको नाममा हुने ठगी, भ्रामक आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार, मानव तस्करी वा विद्यार्थी-अभिभावकमाथि हुने विश्वासघातलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएको छ । साथै सोधपुछकै प्रारम्भिक चरणमा रहेका घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेर्ने र संस्थाहरूलाई सामूहिक रूपमा शंकाको घेरामा राख्ने वा अपराधीकरण गर्ने प्रवृत्तिप्रति संघले गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेको छ ।

“कुनै पनि अनुसन्धान व्यक्तिगत जिम्मेवारी को सिद्धान्तमा केन्द्रित हुनुपर्छ । सम्पूर्ण क्षेत्र वा व्यवसायलाई नै सामूहिक रूपमा बदनाम गर्ने शैलीमा हुनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ ।

पछिल्ला गतिविधिले संस्था र व्यक्तिको प्रतिष्ठा, व्यावसायिक विश्वसनीयता, र नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छविमा समेत नकारात्मक असर पार्ने हुँदा सम्बन्धित निकाय तथा सञ्चारमाध्यमहरूलाई आवश्यक संवेदनशीलता, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन पनि नेकाले आग्रहले गरेको छ ।

साथै, संघले विद्यार्थी तथा अभिभावकहरूलाई वैदेशिक अध्ययन सम्बन्धी निर्णय गर्दा नेपाल सरकारबाट स्वीकृति प्राप्त, दर्ता भएका र विश्वसनीय शैक्षिक परामर्श संस्थाहरूसँग मात्र सम्पर्क राख्न आग्रह गरेको छ । सम्पूर्ण प्रक्रिया, शुल्क, कागजात र अध्ययन गन्तव्यबारे पर्याप्त जानकारी लिएर मात्र अघि बढ्न समेत नेकाले सरोकारवालाहरूलाई सुझाएको छ ।

यसैगरी आगामी दिनमा नेपाल सरकार, सम्बन्धित मन्त्रालय, नियामक निकाय, सुरक्षा निकाय, शैक्षिक संस्था तथा सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, मर्यादित र विद्यार्थीमैत्री बनाउन नेकाले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार