धरौटीका पक्षधरहरुलाई जानकारी होस्, व्यवसायीक सुरक्षामा आँच आउने कुरा स्वीकार्य छैनः विष्णुहरी पाण्डे

यही असार ३० गते (भोली) हुने इक्यानको निर्वाचनमा आफुलाई व्यवसायीहरुको साझा उम्मेद्वारको रुपमा प्रस्तुत गरेका अध्यक्षका प्रत्यासी विष्णुहरी पाण्डेले मजवुत र समृद्ध इक्यान बनाउने आफ्नो अभियान कुनै विरोधीका कारण नरोकिने बताएका छन् ।

आफ्नो प्यानलमा समावेशी र संस्थागत रुपमा पहिचान बनाएका व्यवसायीहरुलाई समावेश गरेको देखेर विचलित भएकाहरुले अनर्गल प्रचार गरिरहेको भन्दै यसबाट कुनैपनि मतदाता व्यवसायी भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।

पाण्डेले व्यवसायीक हितका लागि इक्यानका सदस्यहरुलाई तालिम तथा व्यवसायीक दक्षता अभिवृद्धि गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने, इक्यानका शाखालाई अधिकार सम्पन्न बनाउन, नेता संगठनको रूपमा रहेको इक्यानलाई अझ मजबुत बनाउन, सरकारले व्यवसायीहरुको लागि ल्याउन खोजेको धरौटीको व्यवस्थालाई रोक्न र इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउनु नै एकमात्र ध्यय भएको बताए ।

‘विरोधीहरुलाई यो कुरा मन परेको छैन,’ उनले भने, ‘मलाई थाहा छ, चुनावमा पराजित हुने देखेपछि विचलित भएकाहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् ।’ शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन निषेध गर्ने विषय नै व्यवसायीहरुको एकमात्र व्यवसायीक सुरक्षा भएकाले यसका निम्ती सबैसँग हातेमालो गर्न तत्पर रहेको पाण्डेले बताए । ‘धरौटीका विषयमा केही नबोल्ने यसका पक्षधरहरुलाई यो पनि जानकारी होस् कि व्यवसायीक सुरक्षामा आँच आउने कुनैपनि गतिविधि हाम्रो प्यानललाई स्वीकार्य छैन, यसको शसक्त प्रतिवाद गरिनेछ,’ उनले भने ।

उनले कुनैपनि बाहानामा वैदेशिक लगानी भित्र्याउन नदिनेमा आफु प्रतिबद्ध भएको बताए । ‘इक्यानको अध्यक्ष हुँदा फ्रेन्चाइच तथा विदेशी लगानी भित्र्याउन दिनु हुँदैन भनेर निर्णय गर्ने व्यक्ति मै हुँ,’ पाण्डेले भने । त्यस्तै सरकारले लगाएको ३ प्रतिशत करका सम्बन्धमा पनि पुनरावलोकन गराउन समन्वय गर्ने उनको भनाई छ ।

पाण्डेले इक्यानको बृहत्तर विकासका लागि तत्काल गर्नुपर्ने, केही समयपछि गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्नुपर्ने कामको खाकासमेत प्रस्तुत गरेका छन् । ‘हामीलाई यो वा त्यो वाहाना देखाएर पन्छिने छुट छैन,’ उनले भने, ‘योजना अनुसार कार्य गर्ने र त्यसको ६/६ महिनामा प्रतिवेदन सार्वजनिक गरिनेछ, हामी निर्वाचित भएपछि परिणाम आउने गरी काममा फोकस गर्नेछौं ।’ निर्वाचनमा प्रतिश्पर्धा गर्नु प्राविधिक कुरा भएकाले इक्यानलाई गतिशिल र जिवन्त बनाउन चुनावपछि सम्पूर्ण व्यवसायी एकढिक्का भएर लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

अहिले कसले के ? भन्यो त्यसको जवाफ आफुले भन्दा पनि चुनावले नै दिने पाण्डेको भनाई छ । यतिबेला चुनावी प्रतिश्पर्धा भएकाले अरुमाथि आरोप थोपरेर आफ्नो रोटी सेक्ने अभिष्ट पुरा गर्न खोज्नेलाई मतदाताले गतिलै परिणामसहित जवाफ दिने पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार