कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर, काठमाडौं महानगरपालिकाले माग्यो अनलाइन आवेदन

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।

महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।

यसैबीच, विषयगत अंकभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइट kathmandu.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार