नयाँ कार्यविधि अनुसार विश्वविद्यालयका उपकुलपतिका लागि यस्तो छ आवश्यक न्यूनतम योग्यता

विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।

इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने बताइएको छ । उपकुलपति सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट बैशाख २४ गते स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

आवश्यक न्यूनतम योग्यताः

(१) यस कार्यविधि बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि उम्मेदवारको न्यूनतम योग्यता देहाय बमोजिम हुनेछ:-

(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको,
(ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको,
(ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको,
(घ) चालिस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको,
(च) प्रचलित ‘कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको,
(छ) आवेदकको सम्बन्धित् विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको,
(ज) नेपाली नागरिक भएको,
(झ) दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको ।

(२) लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ, मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।

(३) कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ. मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।

प्रतिक्रिया

सम्बन्धित समाचार