भिजिट तथा पर्यटक भिसा लिएर वैदेशिक रोजगारीमा नजान अध्यागमनको ‘ट्राभल एड्भाइस’

सरकारले पछिल्लो समय गैर कानुनी रुपमा वैदेशिक रोजगारीको उदेश्यले भिजिट तथा पर्यटक भिसा लिएर विदेश जाने नेपालीको संख्या बढेको भन्दै त्यसो नगर्न यात्रा परामर्श (ट्राभल एड्भाइस) जारी गरेको छ ।

अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्ने नेपालीको संख्या दिनानुदिन बढ्दै जानुले विभिन्न समस्या उत्पन्न भएकोले त्यसो नगर्न ट्राभल एड्भाइस जारी गरेको हो ।

विभागले मंगलबार विभिन्न १३ बुँदे ट्राभल एड्भाइस जारी गर्दै रोजगारीको उदेश्यले भिजिट वा पर्यटक भिसामा यात्रा गर्नेहरुले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिले जोखिम निम्त्याएको भन्दै भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिएर मात्रै उदेश्य अनुरुप यात्रा गरी आफूलाई सुरक्षित राख्न थप सजगता अपनाउन आग्रह गरेको छ ।

साथै भिजिट तथा पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य रहेको जनाउँदै यस्तो भिसा लिएर काम गर्न खोज्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्नसमस्या भोग्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै नेपालीहरुको श्रम गन्तव्य रहेका कुवेत, ओमन, युएई र बहराईनलगायतका मुलुकमा विचौलियाहरुले प्रभावमा पारी महिलाहरुलाई भिजिट तथा पर्यटक भिसामा पु¥याइ वर्किङ भिसामा परिणत गराउने कार्य भइरहेको पनि विभागले उल्लेख गरेको छ ।

त्यस्तो कार्यबाट महिलाहरु ठगीमा पर्ने, असुरक्षित र अमर्यादित श्रममा संलग्न हुनुपर्ने, तोकिएको भन्दा फरक गन्तव्यमा पु¥याउने, र घरेलु प्रकृतिका जोखिमयुक्त काम गर्नुपर्ने र सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने सम्भावना रहेकोले सरकारबाट श्रम स्वीकृति लिएर वर्किङ भिसामा मात्रै विदेश जान सुझाइएको छ ।

यसैगरी श्रम स्वीकृति लिएर विदेशमा पठाउने आश्वासनसहित कसैले रकम माग गरेमा उक्त व्यक्ति वा संस्थाको आधिकारिकताको कागजात माग गर्न पनि आग्रह गरिएको छ । साथै वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)सँग पनि नेपाल सरकारले तोकेको रकम मात्र बुझाई रसिद लिन नभुल्न ट्राभल एड्भाइसमा उल्लेख गरिएको छ ।

साथै म्यानपावर कम्पनीले भिजिट तथा पर्यटक भिसामा पठाउन खोजे गृह मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा यथाशिघ्र गोप्य सूचनासमेत दिन सकिने बताइएको छ ।

प्रचलित कानुनमा वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएकोले कसैले म एजेन्ट हुँ भनि झुटा आश्वासन दिएमा विश्वास नगर्न र रकम नबुझाउन पनि विभागले सचेत गराएको छ ।

यस्तै एजुकेशन कन्सल्टेन्सी, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा त्यस्तो रकम नबुझाउन भनेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा भिजिट तथा पर्यटक भिसामा ठगी भएमा वा पर्न लागेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्न र विदेशमा रहेको अवस्थामा नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न सकिने बताइएको छ ।

यसैगरी भारत तथा वेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने वाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी भएकाले कुनैपनि अवस्थामा यस्तो कार्य नगर्नु नगराउन र वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा सबै स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुबाट जानकारी लिन सकिने ट्राभल एड्भाइसमा उल्लेख छ ।

भिजिट वा पर्यटक भिसामा विदेश गएका नेपालीलाई तोकिएको मितिभित्र स्वदेश फर्कन आग्रह गर्दै अन्यथा असामान्य अवस्था सिर्जना भए व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र विदेश प्रस्थान गर्न पनि विभागले आग्रह गरेको छ ।

विदेश यात्रा गर्ने क्रममा नेपालको विमानस्थल मात्रै प्रयोग गर्न र भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्ने हो भने नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर जान पनि सुझाव दिइएको छ ।

विभागले ट्राभल एड्भाइस मात्र नभइ भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने यात्रुहरुको लागि बुधबार (आज) देखि लागू हुने गरी नयाँ व्यवस्थासमेत गरेको छ । त्यसरी जाने यात्रुको कम्तीमा ६ महिनाको वैध अवधिको पासपोर्ट हुनुपर्ने, दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण, र श्रम गन्तव्य मुलुकमा जानेले स्वःघोषणा फारम भर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार