चालु आर्थिक वर्ष २०८०/८१ को पाँचौं महिना अर्थात् मंसिरमा वैदेशिक रोजगारीका लागि ७१ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार मंसिर महिनामा ७१ हजार २७६ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।
विभागको तथ्यांकअनुसार मंसिरमा विदेशिने नेपालीको संख्या गत कार्तिक महिनाको भन्दा २७ हजार ६५४ ले बढेको छ । कार्तिकमा ४३ हजार ६२२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको पाँच महिनाभित्र मंसिरमा श्रम स्वीकृति लिएर विदेश जाने यो सर्वाधिक ठूलो संख्या हो ।
चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् । गत कार्तिक महिनामा युएई जाने नेपालीको संख्या १२ हजार ४८५ रहेको थियो । यस्तै मंसिर महिनामा रोजगारीका लागि कतार जान १४ हजार १५२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको कतार जाने नेपालीको संख्या कार्तिक महिनाको भन्दा पाँच हजार ६९० ले बढी रहेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको साउदी अरेबियामा १३ हजार ९८४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि कार्तिक महिनामा साउदी जाने नेपालीको संख्या आठ हजार १४० रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा केही सुधार देखिएको छ । चौथो स्थानमा रहेको मलेसिया जान नौ हजार ७७५ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । गत कार्तिक महिनामा मलेसिया जानेको संख्या पाँच हजार ५५२ जना मात्रै थियो । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ४५८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरु संख्या पनि मंसिर महिनामा बढेको छ । उल्लेखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकबाट देखिन्छ ।
यसैगरी जापान एक हजार ५२८, रोमानिया ९६९, बहराइन ८९५, माल्दिभ्स ७९५, क्रोएसिया ७९३, ओमान ६४०, साइप्रसका लागि ५२८ र मोरिसस जान ५२० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्यामा पनि बृद्धि भएको छ । कार्तिक महिनामा कोरिया जान एक हजार ८४३ जनाले श्रम स्वीकृति पाएका छन् । यो महिना उल्लेखित मुलुकहरुमा पनि श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या बढेको छ ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३५ हजार १९६ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ८० जना रहेका छन् । चालु आवको पाँचौं महिनामा श्रम स्वीकृति लिनेमध्ये ६ हजार ९३४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
यस्तै जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । कार्तिकमा धनुषाबाट तीन हजार ६२१ जना विदेशिएका छन् । त्यस्तै झापा दोस्रो स्थानमा परेको छ । त्यहाँबाट तीन हजार ३९७ जना श्रमिक विदेशिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट तीन हजार १०२ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ७१६ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ३८५ जना रहेका छन् ।
त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, सर्लाही, तनहुँ, स्याङ्जा, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।






प्रतिक्रिया