सरकारले मनायो १६औं गणतन्त्र दिवस

मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औं गणतन्त्र दिवस मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा गणतन्त्र दिवस भव्यरुपमा मनाइएको छ ।

सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ । सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो बनाई गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नेतर्फ अग्रसर हुन आम नेपालीलाई आह्वान गरेका छन् ।

यद्यपी गणतन्त्र दिवस मनाउन थालेको डेढ दशक भइसक्दा पनि आम जनताले त्यसको अनुभूति गर्न नपाएको र भ्रष्टाचार वेथितिले गाँजेको भन्दै सर्बत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार