जाल्सानको १३औं वार्षिक साधारण सभा सम्पन्न, एनओसी वितरणमा सरकारले विभेद गरेको भन्दै ध्यानाकर्षण

जापानिज भाषा स्कुल संघ नेपाल (जाल्सान)को १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जाल्सानले शुक्रबार राजधानीमा संस्थागत सदस्य तथा अतिथीहरुको उत्साहजनक सहभागितामा साधारण सभा सम्पन्न गरेको हो ।

जाल्सानका अध्यक्ष रमेश देवकोटाको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथीमा शिक्षा मन्त्रालय अन्तरगत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाको उपस्थिति रहेको थियो । त्यस्तै विशेष अतिथिमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, अन्य अतिथीहरुमा इक्यानका अध्यक्ष शेषराज भट्टराई, आइरिनका अध्यक्ष हेमन्त भट्टराई, केक्यानका अध्यक्ष विष्णु खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी उपसचिव कोइरालाले जेन्जी आन्दोलन पछि विद्यार्थी तथा अभिभावकहरुको गुनासो निकै बढेको बताए । उनले सूचिकृत भएको संस्था कम भएको कारण हाल मन्त्रालयमा ४ सयभन्दा बढी गुनासो तथा उजुरी रहेको जानकारी दिए । त्यस्तै परामर्श क्षेत्रमा मात्र नभई जुनसुकै क्षेत्रका व्यवसायीहरुले कानुनको परिधीमा रहेर सरकारसँग सहकार्य गरे देशको अर्थतन्त्र समेत सवल हुने बताए ।

त्यसैगरी महासंघका अध्यक्ष बरालले जाल्सान महासंघको एक दरीलो सदस्य रहेको बताउँदै यस्ता बाँकी सातवटा संघहरु मिलेर काम गरेमा परामर्श व्यवसाय क्षेत्रको प्रारुप नै अर्को हुने दावी गरे । व्यवसायीको हितका लागि फुटेर नभई जुटेर काम गर्नुपर्ने बताउँदै उनले जापानीज भाषा तथा शिक्षा परामर्श क्षेत्रका देखिएका समस्या हल गर्न महसंघले पहल गर्ने बताए । ‘अहिले जापान पढ्न जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयले एनओसी दिने क्रममा झमेला सिर्जना गरिरहेको गुनासो बढेको छ, शिक्षा मन्त्रालयको समन्वयमा यसको छिटै निराकरण गर्न महासंघले पहल गर्नेछ,’ उनले भने ।

जाल्सानका अध्यक्ष देवकोटाले नेपालमा सञ्चालनमा रहेका जापानीज भाषा स्कुलहरूलाई व्यवस्थित र मर्यादित बनाउने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘हामीसँग थुप्रै अफ्ठ्यारा चुनौती र समस्याहरु छन्, त्यस्ता समस्या र चुनौतीको सामना गर्दै यहाँसम्म आइपुगेका छौं,’ उनले भने, ‘अझैपनि जापान पढ्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)मा सरकारले विभेद गरिरहेकोप्रति ध्यानाकर्षण गराइरहेका छौं ।’

शैक्षिक परामर्श क्षेत्रको उत्थानको लागि नीतिगत तहमा सरकारसँग समन्वय गर्न व्यवसायीहरुको एउटै छाता संगठन हुनुपर्ने महसुस गर्दै जाल्सान पनि नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघमा आवद्ध भएको अध्यक्ष देवकोटाले जानकारी दिए । उनले जापानको शिक्षा र शैक्षिक परामर्श क्षेत्रका सबै संघसंस्थासँग समदूरी राख्दै सदैव सहकार्य गर्न जाल्सान तत्पर रहेको बताए । साथै शैक्षिक परामर्श क्षेत्रको समस्या समाधान गर्न शिक्षा मन्त्रालय, सरकार र व्यवसायीहरु मिल्नुको विकल्प नरहेको उनले दाबी गरे ।

साधारण सभाको उद्घाटन सत्रलाई जाल्सानका महासचिव अरुण पाण्डेले संचालन गरेका थिए भने उपाध्यक्ष महेशकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै बन्दसत्रमा कार्यक्रमको सञ्चालन सचिव कोषराज गिरीले गरेका थिए । साधारण सभाको बन्दसत्तबाट महासचिव पाण्डेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन एवम भावी योजना सर्वसम्मतिले सभाबाट पारित भएको सचिव गिरीले जानकारी दिए । त्यस्तै कोषाध्यक्ष महेश ढकालबाट प्रस्तुत भएको आर्थिक प्रतिवेदन उपर छलफल गरी सर्वसम्मतिले पारित गरिएको बताइएको छ ।

साधारण सभालाई भव्य रुपमा सम्पन्न गर्न नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज (एनआईएचएस), नेपाल ल्याब हाउस, आर्या ट्राभल एण्ड टुर्स, गो वे होलीडे ट्राभल्स एण्ड टुर्सले प्रयोजन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार