वैदेशिक अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने काठमाडौंको बानेश्वर क्षेत्रमा अवस्थित शैक्षिक परामर्श (एजुकेशनल कन्सल्टेन्सी) व्यवसायीहरुको भेला सम्पन्न भएको छ । बिहीबार अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्या र क्रिसमस डेको अवसर पारेर बानेश्वर क्षेत्रमा भएका कन्सल्टेन्सी व्यवसायीहरुबीच परिचयात्मक तथा शुभकामना आदानप्रदान गर्दै भेला सम्पन्न गरेका हुन् ।
विशेष गरी बानेश्वर क्षेत्रमा रहेका व्यवसायीहरुबीच परिचय स्थापित गर्दै भाइचाराको सम्बन्ध विकास गर्न र एउटा पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गर्ने उदेश्यले भेला आयोजना गरिएको भेलाका संयोजक होम बहादुर थापा ‘जिवन’ले जानकारी दिए । ‘बानेश्वर क्षेत्रमा परामर्श व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरुबीच आपसी परिचय नहुँदा सामुहिक हित प्रवर्दनमा असर पारेकाले पनि एउटा अवसर पारेर भेला बोलाइएको हो,’ उनले भने, ‘भेलाले एकआपसमा चिनाजान गराउनुका साथै आत्मियता बढाउन मद्दत पुगेको छ, साथै व्यवसाय प्रवर्दनमा पनि सहकार्य गर्न सहज हुनेछ ।’

त्यस्तै जाल्सानका प्रथम उपाध्यक्ष, बानेश्वरस्थित हार्डफोर्ड एजुकेशनका प्रबन्ध निर्देशक एवं भेला संयोजन समितिका सदस्य महेश श्रेष्ठले पनि बानेश्वर शैक्षिक परामर्श व्यवसायको हब भइसकेका कारण त्यस क्षेत्रमा रहेका व्यवसायीहरुबीच आपसी सम्बन्ध सुदृढ गर्न परिचयात्मक कार्यक्रमको रुपमा बोलाइएको भेला सम्पन्न भएको बताए । ‘व्यवसायीक कार्य व्यस्तताले हामीले बोलाएका सबै व्यवसायी साथीहरु आउन सम्भव भएन,’ उनले भने, ‘यस क्षेत्रमा रहेका थुप्रै व्यवसायीहरुको उत्साहपूर्ण सहभागिता रह्यो, यसले बानेश्वर क्षेत्रमा रहेका व्यवसायीहरुबीच बलियो एकता रहेको सन्देश प्रवाह गरेको छ ।’ हाल बानेश्वर क्षेत्रमा १५० भन्दा बढी एजुकेशन कन्सल्टेन्सीहरु संचालनमा रहेको उनले जानकारी दिए ।

बानेश्वर क्षेत्रमा लामो समयदेखि शैक्षिक परामर्श व्यवसाय संचालन गर्दै आएका आइरिनका अध्यक्ष एवं मेन्टर इन्स्टिच्युट प्रबन्ध निर्देशक हेमन्त भट्टराई, इक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रु’, इक्यानका सहकोषाध्यक्ष एवं डब्लुआरआईका प्रबन्ध निर्देशक विकल्पराज पोखरेल, इक्यानका पूर्व अध्यक्ष एवं रोयल एजुकेशनका प्रबन्ध निर्देशक विष्णुहरी पाण्डे, इक्यानका पूर्व उपाध्यक्षसमेत रहेका अल्फाविटाका प्रबन्ध निर्देशक द्विराज शर्मा सिवाकोटी, इक्यानका सल्लाहकार एवं बोस्टन एजुकेशनका संचालक विष्णु पोखरेल, इक्यानका पूर्व सचिव एवं स्टडी ग्लोबलका प्रबन्ध निर्देशक बालकृष्ण श्रेष्ठ, चेरब एजुकेशनका प्रबन्ध निर्देशक इश्वर श्रेष्ठलगायत ५० बढी व्यवसायीहरुको भेलामा सहभागिता रहेको बताइएको छ ।
भेलामा सहभागि वक्ताहरुले बानेश्वर क्षेत्रमा रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई एकतावद्ध गराउने र व्यवसायीक हितका लागि संस्थागत पहल लिन अपरिहार्य भएका बेला आयोजना गरिएको भेलालाई सार्थक बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।











प्रतिक्रिया