पूर्वको प्रशिद्ध पाथिभरा धाम : आस्था, भूगोल र जनजीविकाको अनौठो सङ्गम

पूर्वी नेपालको ताप्लेजुङमा समुद्र सतहबाट ३ हजार ७९४ मिटरको उचाइमा मुस्कुराइरहेको पाथिभरा देवी (मुकुम्लुङ) केवल एउटा धार्मिक शक्तिपीठ मात्र होइन । यो त भूगोल, संस्कृति र मानिसहरूको अगाध आस्था जोडिएको एउटा सजीव इतिहास हो। अन्नले भरिपूर्ण ‘पाथी’ जस्तै देखिने डाँडामा मुस्कुराइरहेकी देवीको मन्दिर पुग्दा जोकसैको मनमा पनि एक किसिमको अलौकिक शान्ति छाउँछ।

यस धामको उत्पत्तिको कथा उत्तिकै रोचक छ। परापूर्व कालमा पाथिभरा डाँडा आसपासका क्षेत्रमा भेडा चराउन गएका गोठालाहरूका सयौँ भेडाहरू एकाएक हराए। रातको समयमा चिन्तित बनेका गोठालाहरूलाई देवीले सपनामा दर्शन दिँदै आफू प्रकट भएको स्थानमा बलि र पूजाआजा गर्न आदेश दिनुभयो। बिहानै उठेर निष्ठापूर्वक पूजा गर्नासाथ हराएका भेडाहरू जस्ताको तस्तै फर्किए।

देवीलाई दिइएको बलिको रगत जमिनले क्षणभरमै सोसेको त्यो चमत्कार र भक्तको मनोकांक्षा पाथी भरिएझैँ पूरा गरिदिने सामर्थ्यका कारण नै यी देवीलाई ‘पाथिभरा’ भनियो। लिम्बू भाषामा यसलाई ‘मुकुम्लुङ’ अर्थात् शक्ति प्रदान गर्ने पवित्र शिलाका रूपमा पुजिन्छ।

काठमाडौँ, झापा वा विराटनगरबाट ताप्लेजुङको फुङ्लिङ हुँदै सवारीसाधन पुग्ने अन्तिम विन्दु ‘काफ्लेपाटी’ सम्मको यात्रा आफैँमा रोमाञ्चक हुन्छ। त्यहाँबाट सुरु हुन्छ— देउराली, भालुगौँडा र माथिल्लो फेदी हुँदै ४ देखि ५ घण्टाको उकालो र रमणीय पैदल यात्रा। गुराँसको जंगल, चिसो हावा र कञ्चनजङ्घा हिमश्रृंखलाको मनमोहक दृश्य नियाल्दै अघि बढ्दा बाटोको थकान क्षणभरमै हराउँछ।

यहाँ आउने तीर्थयात्रीहरूको भूगोल र पृष्ठभूमि पनि लोभलाग्दो छ। झापा, मोरङ र काठमाडौँदेखि मध्य अनि पश्चिम नेपालसम्मका सर्वसाधारण यहाँ भाकल गर्न पुग्छन्। भारतको सिक्किम, डार्जिलिङ, कालिम्पोङ, असाम र बिहारबाट वर्षेनि हजारौँ भारतीय श्रद्धालुहरूको घुइँचो लाग्छ।

भुटान, म्यानमार र तेस्रो मुलुकमा बस्ने गैरआवासीय नेपालीहरू मात्र नभई देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा, उद्योगपति र चर्चित कलाकारहरू समेत शक्ति प्राप्तिका लागि यो डाँडामा शीर झुकाउन पुग्छन्। किराँत, हिन्दु र बौद्ध तीनवै धर्मका अनुयायीहरूका लागि यो साझा थलो बनेको छ।

बर्सेनि यहाँ पुग्ने २ लाखभन्दा बढी भक्तजनहरूले चढाउने दानभेटी पनि उत्तिकै विशाल छ। वार्षिक करिब साढे ३ देखि ४ करोड रुपैयाँ नगद, ३६ क्विन्टल सिक्का र सयौँ तोला सुनचाँदी (हाल कोषमा २२८ तोला सुन र ५,२९८ तोला चाँदी) संकलन हुन्छ।

नेपाल प्रहरी र समितिको निगरानीमा पारदर्शी रूपमा गणना गरी बैंकमा जम्मा गरिने यो रकम केवल मन्दिरमा मात्र सीमित रहँदैन। पदमार्गमा सिँढी, रेलिङ, सौर्य बत्ती, पिउने पानी, शौचालय र लेक लाग्ने बिरामीका लागि आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवामा यो पैसा खर्च हुन्छ।

यसरी भक्ति, किम्बदन्ती, पर्यटकीय सौन्दर्य र जनसेवाको सुन्दर तालमेल मिलेको पाथिभरा धामले पूर्वी नेपालको धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै आस्थाको उज्यालो छरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार