ललितपुर महानगरपालिकाले आफ्नो १०७औँ स्थापना दिवसको अवसरमा माछापुच्छ्रे वर्ल्ड स्कुललाई नगद पुरस्कार राशीसहित सम्मान गरेको छ । महानगरपालिका भित्रका संस्थागत विद्यालयहरु मध्ये सम्पदा संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै भन्दै माछापुच्छ्रे स्कुललाई नगद एक लाख रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरेको हो ।
शैक्षिक सत्र २०८१ मा सञ्चालन गरिएको ‘एक विद्यालय, एक सम्पदा संरक्षण कार्यक्रम’ अन्तर्गत उत्कृष्ट कार्य गर्दै प्रथम स्थान हासिल गरेको भन्दै नगद राशीसहित सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिका जस्तो ऐतिहासिक सहरले सम्पदा संरक्षणमा गरिएको प्रयास र योगदानलाई कदर गर्दै महानगरले गरेको सम्मान र विश्वासप्रति आभार व्यक्त गर्दै थप जिम्मेवारी बोध भएको स्कुलका संस्थापक एवं सीईओ डा. विनोद यादवले बताए । ‘हामीले सम्पदा संरक्षणमा गरेको प्रतिबद्धतालाई अझ सुदृढ गर्ने प्रेरणा मिलेको छ,’ उनले भने, ‘यतिमात्र नभई हाम्रा विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै आफ्नो कला, संस्कृति र सम्पदाको महत्त्व बुझाउन ‘संस्कारसहितको शिक्षा’मा पनि जोड दिँदै आएका छौं ।’
डा. यादवले सम्पदा संरक्षणलाई केवल इतिहास जोगाउने कार्यका रूपमा मात्र नलिई यसलाई भावी पुस्ताको पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
माछापुच्छ्रे वर्ल्ड स्कुल परम्परागत शिक्षण विधि र आधुनिक प्रविधिबीच सन्तुलन कायम गर्दै ‘संस्कारसहितको शिक्षा’ प्रदान गर्दै आएको अग्रणी शैक्षिक संस्था हो ।
यसले अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि अपनाउँदै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने काम गर्छ । यद्यपी अन्तर्राष्ट्रिय शिक्षण पद्धति अपनाए पनि नेपालको राष्ट्रिय पाठ्यक्रम, नेपाली भाषा, इतिहास र संस्कृतिलाई उत्तिकै महत्त्व दिइएको सीईओ डा. यादव बताउँछन् ।









प्रतिक्रिया