अब अनलाइनबाटै ‘नो अब्जेक्सन लेटर’ लिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले अनलाइन प्रणालीबाटै वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

सोमवार शाखाले कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीमार्फत नो अब्जेक्सन लेटर लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको बताएको छ ।

शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी नो अब्जेक्सन लेटर डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताए । अब विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको उनले बताए । उनले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको जानकारी दिए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजैबाट फेसलेस, पेपरलेस र क्यासलेसको शुरुवात हुनु नेपालीहरुका लागि खुशीको कुरा भएको बताए । यसले सकारात्मक सन्देश दिने उनको भनाई छ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार