वैदेशिक रोजगार विभागले बेलायत रोजगारीमा जान मापदण्ड पुरा गरी आवेदन दिएका ७१ जना नर्सको नामावली अन्तर्वार्ताका लागि सार्वननिक गरेको छ । विभागले अनलाइन आवेदन दिएका नर्सहरूमध्ये तोकिएको मापदण्डको आधारमा छनौट गरी अन्तर्वार्ताका लागि नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरे पनि ७१ जनाले मात्रै मापदण्ड पुरा गरेको उल्लेख गरेको छ । यद्यपी वेलायत सरकारसँग भएको जिटुजी (सरकार–सरकारबीच) सम्झौता अनुसार पहिलो चरणमा सय जना स्वास्थ्यकर्मी (नर्स)को माग भइ आएकोमा आवेदन दिने अन्तिम म्याद (कार्तिक २ गते, १९ अक्टोबर) भित्र ७७१ जनाले आवेदन दिएको विभागले जनाएको छ ।
दक्ष जनशक्तिको उच्च माग रहेको वेलायतको स्वास्थ्य क्षेत्रमा हेल्थ केयर एसिस्टेन्टको रुपमा एक सय जना नेपाली नर्सलाई पठाउने गरी सरकारले गत साउन ४ गते अर्थात् २० जुलाईबाट आवेदन माग गरेको थियो । छनौटमा परेका नर्सहरुलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुने विभागले जनाएको छ ।
नर्सका लागि तोकिएको कडा मापदण्डका कारण आवेदन दिनेमध्ये थोरैले मात्र पुरा डकुमेन्ट पेश गर्न सफल भएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘अनलाइन आवेदन दिएका नर्सहरुलाई मापदण्ड पुरा गर्न छुट भएका कागजात पुनः पेश गर्ने अवसर दिइए पनि पुरा गर्न नसकेका कारण ७१ जना मात्रै अन्तर्वार्ताको लागि छनौट भएका हुन्,’ उनले भने ।
दुई देशबीचको श्रम समझदारी अनुसार वेलायत जान चाहने नर्सहरुले अंग्रेजी भाषा परीक्षण आईईएलटीएसमा न्युनतम ७ अंक र अक्यूपेशनल इङ्ग्लिस टेस्ट (ओईटी)मा ‘बी’ ल्याएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । यसको अलवा आवेदन दिने नर्सहरुले आफु नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको र दुई वर्ष कार्यअनुभव रहेको प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने प्रावधान छ । सोही अनुसार आवेदन दिने नर्सहरुले डकुमेन्ट पुरा गर्न नसक्दा माग संख्या भन्दा पनि थोरैमात्र अन्तर्वार्ताको लागि छनौट भएको बताइन्छ ।
माग संख्याभन्दा पनि कम आवेदन परेका कारण अन्तर्वार्ताको लागि छनौट भएका सबै नर्सले वेलायतमा रोजगारी पाउने संभावना देखिएको छ । रोजगार भर्ना प्रक्रियालाई पुरा गर्न वैदेशिक रोजगार विभाग र ह्याम्सपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेको संयुक्त समन्वय हुनेछ ।
त्यस्तै द्विपक्षीय सम्झौता अनुसार भर्ना प्रक्रियामा कुनै पनि व्यक्ति, रोजगारदाता, संघसंस्था वा म्यानपावर कम्पनी वा एजेण्टको सहभागिता निषेध गरिएको छ भने रोजगारीको लागि छनौट भएका नर्सहरुले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन ।
यद्यपी रोजगारीको लागि वेलायत पुगेका नर्सहरुले तीन महिना तालिम लिएर त्यहाँको नर्सिङ काउन्सिलमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै श्रम समझदारी अनुसार स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुनेछ भने कार्यअवधि पाँच बर्ष रहेको छ ।






प्रतिक्रिया