मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनी सम्पन्न, १० हजार बढी विद्यार्थीले गरे अवलोकन

मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ सम्पन्न गरेको छ । मध्यपुर ठिमीस्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।

यही मंसिर ११ र १२ गते सञ्चालन गरिएको प्रदर्शनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेको बताइएको छ । प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको थियो ।

विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले यस प्रर्दशनीको आयोजना गरिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले बताए । उनले कलेजले एक वर्ष अगाडि गरेको यसखालको प्रदर्शनीले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको बताउँदै सूर्यविनायक नगरपालिका समेत प्रभावित भई नगरपालिका स्तरको प्रदर्शनी आयोजना गरेको जानकारी दिए । उनले यस प्रदर्शनीमा सहभागी भएका विद्यालयका विद्यार्थीले आफूले सोचेको भन्दा पनि नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताए ।

प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामाग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने मिडभ्यालीले जनाएको छ । प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिएको छ ।

मिड भ्याली कलेजले पनि यस्ता क्रियाकलापमा जोड दिदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार