रोहिणी इन्टरनेसनल एजुकेसनको ब्राण्ड एम्बास्डरमा ‘एमएमए फाइटर’ रविन्द्र ढाँट नियुक्त

वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजले नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

रोहिणी इन्टरनेसनलले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रविन्द्रलाई आफ्नो संस्थाको ब्राण्ड एम्बास्डर नियुक्तसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको छ ।

आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने जनाएको छ । रवीन्द्रजस्तो व्यक्तित्वलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउनु गर्वको विषय भएको भन्दै यस सहकार्यलाई निरन्तरता दिने रोहिणी इन्टरनेशनलका प्रबन्ध निर्देशक श्याम भण्डारीले जानकारी दिए ।

‘रविन्द्रसँगको सहकार्यले संस्थाको गरिमा बढ्ने विश्वास लिएको छु,’ उनले भने, ‘यसले मेहनत र समर्पणबाट नै सफलता हासिल गर्न सकिन्छ भन्ने युवाहरुलाई प्रेरणा दिनेछ ।’ भण्डारीले रवीन्द्र नेपालमा बन्दै गरेको हिरा भएको र आगामी दिनमा उनी अझ चम्किलो बन्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

यस्तै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले खेलकुद जगतमा रविन्द्रको योगदान ऐतिहासिक रहेको बताए । ‘बैतडीबाट काठमाडौं आएर नयाँ इतिहास रच्नुभएको छ,’ उनले भने, ‘भारतमा घाइते भएर पनि देश चिनाएका रविन्द्रलाई रोहिणीले एम्बास्डर बनाउनु गर्वको विषय हो ।’ अध्यक्ष बरालले रविन्द्र र रोहिणीबीचको सम्झौताले दिर्घकालिन सहकार्यमा योगदान पुर्याउनेमा विश्वस्त रहेको बताए ।

यसैगरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै भने,’देशले यस्तो व्यक्तित्व पाउनु सौभाग्य हो, उनले नेपालको खेल क्षेत्रमा ठूलो योगदान दिएका छन् ।’

ब्राण्ड एम्बास्डर नियुक्त भएपछि रविन्द्र ढाँटले रोहिणी परिवारलाई धन्यवाद दिदैँ यो जिम्मेवारीलाई प्रचारभन्दा बढी सहयोगको रूपमा लिने बताएका छन् । ‘जीवनमा अझ धेरै गर्न बाँकी छ, आगामी बाटो सहज हुने विश्वास छ,’ उनले भने ।

रोहिणी इन्टरनेसनलका मार्केटिङ डाइरेक्टर दयाराम थापाले पनि रवीन्द्रसँग सहकार्य गर्न पाउनु हर्ष र गौरवको कुरा भएको बताए । ‘उहाँले गरेको फाइट देशको लागि हो । यो हाम्रो लागि गर्व र खुशीको कुरा हो । रवीन्द्रजस्तो व्यक्तित्वलाई ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा निक्कै हर्षित छौँ । हामीबीचको यो सहकार्यलाई निरन्तरता दिनेमा पनि प्रतिवद्दता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

रोहिणी इन्टरनेसनलले विशेषगरी न्यूजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेषज्ञ शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । संस्थाले आईईएलटीएस तयारी कक्षा तथा अन्य शैक्षिक परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार