दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने व्यवसायीहरुको छाता संगठन कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले शनिबार आयोजना गरेको पहिलो ‘कोरियन एजुकेशन फेयर’ भव्य रुपमा सम्पन्न भएको छ । कोरियाका शिर्ष विश्वविद्यालय र कलेजहरुका बारेमा शैक्षिक परामर्श दिइएको एजुकेशन फेयरमा झण्डै ३ हजार विद्यार्थीले उत्साहजनक सहभागिता जनाएको केक्यानले उल्लेख गरेको छ ।
नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा संचालन गरिएको फेयरमा २३ भन्दा बढी संस्था (कन्सल्टेन्सी)को सहभागीता रहेको थियो भने ७० बढी तालिम प्राप्त काउन्सेलरबाट शैक्षिक परामर्श दिइएको बताइन्छ ।

यस एजुकेशन फेयरले नेपाली विद्यार्थीहरूलाई कोरियाका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्राप्त गरेको केक्यानका अध्यक्ष बिष्णु खड्काले बताए । अध्यक्ष खड्काले उच्च शिक्षा अध्ययनको लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुले एकै ठाउँबाट विभिन्न कलेज तथा विश्वविद्यालयबारे आवश्यक जानकारी लिन सफल भएको बताए ।
‘‘यो फेयरले केवल शैक्षिक अवसरहरू मात्र होइन, भिसा प्रक्रिया, छात्रवृत्तिसम्बन्धि जानकारी, र आवेदनसम्बन्धी पनि सहयोग प्रदान गरेको छ,’ उनले भने, ‘विश्वसनीय शिक्षा परामर्श समूहको रूपमा स्थापित केक्यानले विद्यार्थी भर्ना, कोर्स मार्गदर्शन, भिसा आवेदन, र उपलब्ध छात्रवृत्तिका सम्बन्धमा तालिम प्राप्त काउन्सिलरमार्फत सेवा दिएको छ ।’अध्यक्ष खड्काले एजुकेशन फेयरमा उत्साहजनक सहभगिता जनाएर कोरियाको शैक्षिक प्रणाली र अध्ययनप्रति रुची देखाएकोमा विद्यार्थी अभिभावक तथा शुभेच्छुकहरुप्रति आभार प्रकट गरे ।

त्यस्तै केक्यानका निवर्तमान अध्यक्ष गणेश शर्माले पछिल्लो समय कोरिया विदेशमा पढ्न जाने योजना बनाएका विद्यार्थीहरूको आकर्षक गन्तव्य बनेको बताए । पहिलो पटक आयोजना गरिएको एजुकेशन फेयरमा देखिएको विद्यार्थीहरुको सहभागिताले पनि कोरिया एउटा उत्कृष्ट गन्तव्य बनेको पुष्टि गर्छ,’ उनले भने, ‘कोरियाको शिक्षा प्रणाली र करिअर निर्माणमा आवश्यक जानकारी दिन फेयर भरपर्दो माध्यम बन्यो भन्ने विश्वास लिएको छु ।’ फेयरमा देखिएको विद्यार्थी एवं अभिभावको उपस्थितिले व्यवसायीहरु उत्साहित भएको उनले जानकारी दिए ।

यसैगरी कोरिया गएर पढ्न चाहने विद्यार्थीहरुको सहभागिताले व्यवसायीहरुमा उर्जा थपेको फेयरमा सहभागि इन्टरनेशनल मल्टिभिजन इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी (आईएमआईसी)का सीईओ तुल्सीलाल जोशीले बताए । कोरिया गएर अध्ययन गर्ने विद्यार्थीहरूका लागि थुप्रै सम्भावनाहरू रहेको उनले जानकारी दिए । ‘कोरिया नेपाली विद्यार्थीहरुको लागि उपयुक्त गन्तव्य हुन सक्छ,’ उनले भने, ‘ विद्यार्थीहरुको रुची र चाहाना अनुसार नै हामीले कोरियन शिक्षाको प्रवद्र्धन गरेका छौं, यो फेयरबाट पनि कोरिया गएर पढ्न चाहने विद्यार्थीको संख्या उल्लेख्य रहेको देखाउँछ ।’

त्यस्तै विद्यार्थीहरूले पनि आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रुपमा एजुकेशन फेयरलाई लिएको प्रतिक्रिया दिएका छन् । एकै ठाउँबाट कोरियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा काउन्सेलिङ लिन पाउँदा धेरै कुराको जानकारी पाइएको उनीहरुले बताए ।




























प्रतिक्रिया