लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतका काम अघि बढिसकेको अवस्थामा प्रभावित परिवारलाई पुनःस्थापना र पुनर्निर्माणतर्फ सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण घर तथा आवासीय संरचना, जीविकोपार्जनका माध्यम र विभिन्न पूर्वाधारमा क्षति पुगेपछि प्रभावित परिवारलाई सामान्य अवस्थामा फर्काउन दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकले जनाएको छ।
तत्कालीन उद्धार तथा राहतपछि प्रभावित क्षेत्र पुनःस्थापना र पुनर्निर्माणको चरणमा प्रवेश गरिरहेको अवस्थामा सामूहिक प्रयासलाई थप बल पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको हो। प्रभावित समुदायको आवश्यकता र पुनःस्थापनाको दीर्घकालीन प्रक्रियालाई ध्यानमा राखेर सहयोग उपलब्ध गराइएको बैंकको भनाइ छ।
लक्ष्मी सनराइज बैंकले बाढीका कारण आफन्त, घर तथा जीविकोपार्जनका आधार गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै विपद्का समयमा उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउनुका साथै विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।







प्रतिक्रिया