ग्रीसमा नेपाली लोकसंस्कृतिको झल्को, कोरियोग्राफर केशव कोइरालाको विशेष प्रस्तुति

नेपाली लोककला र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै आएका वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर केशव कोइरालाले ग्रीसमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा नेपाली मौलिक लोकसंस्कृतिको प्रस्तुति दिएका छन्।

ग्रीसको सलोनिके सहरमा अगस्ट २१ देखि ३१ तारिखसम्म आयोजना गरिएको ‘लोकसांस्कृतिक मेला तथा लोकसांस्कृतिक आदानप्रदान २०२६’ मा नेपालसहित ग्रीसका विभिन्न सांस्कृतिक समूह, भारत, सर्बिया र मोन्टेनेग्रोका कलाकारहरूको सहभागिता रहेको थियो। मेलामा सहभागी विभिन्न देशका कलाकारले आ–आफ्नो मौलिक कला, संस्कृति, परम्परा र लोकनृत्य प्रस्तुत गरेका थिए।

नेपालबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपको प्रतिनिधित्व गर्दै कोइरालाले सहभागिता जनाएका थिए। उनले कार्यक्रममा नेपाली मौलिक लोककला र संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्नुका साथै नेपाली टोलीको नृत्यको कोरियोग्राफीसमेत गरेका थिए। नेपाली कलाकारको प्रस्तुतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर प्राप्त भएको कोइरालाले बताएका छन्।

सिन्धुपाल्चोकको दुवाचौर–९ मा जन्मिएका कोइराला सन् १९९३ अर्थात् २०५० सालदेखि नृत्य क्षेत्रमा सक्रिय छन्। लामो समयदेखि नृत्य निर्देशन तथा प्रशिक्षणमा संलग्न उनले विभिन्न संस्थामा व्यावसायिक नृत्य प्रशिक्षकका रूपमा समेत काम गरिसकेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा नृत्य निर्देशक र कोरियोग्राफरका रूपमा परिचित कोइरालाले नेपाली लोकनृत्यको संरक्षण र प्रवद्र्धनलाई आफ्नो सांस्कृतिक यात्राको मुख्य उद्देश्य बनाउँदै आएका छन्।

चार दशकभन्दा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा सक्रिय कोइरालाले नेपाली मौलिक नृत्य तथा लोककलालाई राष्ट्रिय सीमाभन्दा बाहिर पुर्‍याउन विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणसँगै यसको प्रचार–प्रसार तथा सांस्कृतिक आदानप्रदानमार्फत नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न आफू निरन्तर सक्रिय रहेको उनको भनाइ छ।

ग्रीसमा सम्पन्न लोकसांस्कृतिक मेलाले सहभागी मुलुकबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको लोककला र संस्कृतिलाई विदेशी दर्शकमाझ चिनाउने अवसरसमेत प्रदान गरेको छ। आयोजक जुली थियोडोसेलीले यस्ता सांस्कृतिक कार्यक्रमले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्ध मजबुत बनाउनुका साथै सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार