बाढीपीडितका लागि नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख दिने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नाडाले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यसँगै निजी क्षेत्र र नागरिक समाजले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय विपद्को यस घडीमा राज्यसँग काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिक तथा निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरिएको छ। नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर उद्धार तथा राहतका कार्यमा सहयोग गर्नसमेत आह्वान गरेको छ।

विपद्पछिको उद्धार तथा राहतमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ। प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्ने तथा उद्धार र राहतका लागि आवश्यक समन्वय गरिरहेको सरकारको प्रयासको समेत नाडाले प्रशंसा गरेको छ। विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएकाले निजी क्षेत्रलाई सहयोगका लागि गरिएको आह्वानप्रति नाडाले उच्च कदर गरेको जनाएको छ।

नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको हो। विपद्को कठिन अवस्थामा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।

यसैबीच, बाढीको विपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भन्दै नाडाले भृकुटीमण्डपमा जारी अटो शो भने निरन्तर सञ्चालनमा रहने स्पष्ट पारेको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले अटो शो स्थगित नगर्ने निर्णय गरिएको नाडाले जनाएको छ।

नाडाले विपद्को सामना गर्न सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट हातेमालो गर्दै उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न तथा आर्थिक गतिविधिलाई समेत निरन्तर चलायमान राख्न अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार