प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सांसदहरूले सरकारको कामकारबाही, समसामयिक विषय तथा सार्वजनिक सरोकारका विभिन्न विषयमा उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा प्रस्तुत गर्ने भएका छन्। उक्त सम्झौतामार्फत नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारलाई थप व्यवस्थित र सुनिश्चित गर्ने विषय अघि बढेको छ।

यसैबीच, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको छ। दुवै समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीबाट सांसदका प्रश्नको जवाफ तथा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत हुने भएकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार