नेपालमा नयाँ पुस्ताको स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाख ९० हजारदेखि

काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नेपाली बजारमा नयाँ पुस्ताको स्कोडा कोडियाक सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ को अवसर पारेर सात सिट क्षमताको नयाँ कोडियाक सार्वजनिक गरेको हो।

‘Real Luxury. As It Should Be.’ नारासहित सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले प्रिमियम एसयूभी सेग्मेन्टमा प्रस्तुत गरेको छ। युरोपेली डिजाइन तथा फक्सवागन ग्रुपको इन्जिनियरिङमा आधारित नयाँ कोडियाकमा आराम, आधुनिक प्रविधि र प्रिमियम अनुभवलाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ।

नयाँ कोडियाकमा शरीरको बनावटअनुसार आराम प्रदान गर्ने एर्गो सिट, म्याट्रिक्स एलईडी हेडलाइट्स तथा गाडीका विभिन्न फङ्सन सहज रूपमा नियन्त्रण गर्न सकिने स्मार्ट डायल्सजस्ता आधुनिक फिचर समावेश छन्। सात सिट क्षमताका कारण पारिवारिक प्रयोगका लागि समेत उपयुक्त हुने गरी एसयूभीलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ।

गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा एउटा नयाँ लक्जरी एसयूभी मात्र नभई लक्जरीको फरक अवधारणा प्रस्तुत गर्न खोजिएको बताए। “नयाँ कोडियाकका साथ हामी नेपालमा केवल एउटा गाडी मात्र ल्याइरहेका छैनौं, लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेका छौं। यो वास्तविक युरोपेली लक्जरी हो, जस्तो यो हुनुपर्ने हो,” उनले भने।

कम्पनीले नयाँ कोडियाकलाई नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध गराएको छ। यसको लाउन्ज भेरियन्टको मूल्य २ करोड १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, स्पोर्टलाइन र सेलेक्सन एल एन्ड के भेरियन्टको मूल्य समान २ करोड ३९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

नयाँ कोडियाक अगस्ट २५ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८औँ नाडा अटो शो २०२६ को स्कोडा पेभिलियनमा प्रदर्शनीमा राखिएको छ। कम्पनीका अनुसार नयाँ कोडियाकको बुकिङ देशभर रहेका स्कोडाका आधिकारिक शोरुमबाट खुला गरिएको छ।

नयाँ पुस्ताको कोडियाकलाई नेपालमा सार्वजनिक गरिनुलाई प्रिमियम एसयूभी बजारमा स्कोडाको उपस्थिति थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। सात सिट क्षमता, युरोपेली डिजाइन, आरामदायी इन्टेरियर र आधुनिक प्रविधिका फिचरलाई मुख्य आकर्षण बनाएको नयाँ कोडियाकले नेपाली प्रिमियम एसयूभी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार