नाडा अटो शोमा फराइजनको विद्युतीय भ्यान सार्वजनिक, १२ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने दाबी

काठमाडौं । नाडा अटो शो २०२६ मा फराइजनको नयाँ विद्युतीय भ्यान ‘भी७ई’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि फराइजनको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले नयाँ विद्युतीय भ्यान सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार फराइजन भी७ई नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमा धेरै फिचरयुक्त विद्युतीय भ्यान हो। यात्रुवाहक तथा व्यावसायिक प्रयोजनलाई लक्षित गरी ल्याइएको यो भ्यानले नेपालमा विद्युतीय कमर्सियल सवारीको विकल्प थप विस्तार गर्ने कम्पनीको विश्वास छ।

फराइजन भी७ईमा जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

कम्पनीका अनुसार नयाँ ब्याट्री प्रविधिले ब्याट्रीको आयु लामो बनाउनुका साथै छिटो चार्ज र राम्रो रेन्जका लागि सहयोग पुर्‍याउँछ। भ्यानलाई १२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

फराइजन भी७ई जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ। विद्युतीय सवारीका लागि तयार गरिएको प्लेटफर्म भएकाले नेपालको सडकमा रहेका खाल्डाखुल्डी तथा असमान बाटोमा समेत ब्याट्रीलाई सुरक्षित राख्न सहयोग पुग्ने कम्पनीको दाबी छ।

कम्पनीले नयाँ प्लेटफर्मले भ्यानमा सुरक्षा, स्थायित्व तथा यात्राको आरामलाई समेत प्राथमिकता दिएको जनाएको छ।

फराइजन भी७ईमा १३ जनासम्म यात्रु अट्ने क्षमता रहेको छ। यात्रुलाई सहज र सुरक्षित यात्रा अनुभव प्रदान गर्न भ्यानमा विभिन्न आधुनिक फिचर समावेश गरिएको छ।

भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, कीलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्। त्यस्तै, १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ।

फराइजन भी७ईमा यात्रु सुरक्षालाई ध्यानमा राख्दै फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट तथा हिल होल्ड कन्ट्रोललगायतका सुरक्षा तथा सुविधा फिचर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नयाँ विद्युतीय भ्यानले यात्रुवाहक तथा व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीको माग बढिरहेको नेपाली बजारमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नाडा अटो शो २०२६ मा सार्वजनिक गरिएको फराइजन भी७ईलाई अवलोकनकर्ताले प्रत्यक्ष हेर्नुका साथै यसको प्रविधि, फिचर तथा विद्युतीय ड्राइभिङ क्षमताबारे जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार