नेपाल टेलिकमको आउटबाउन्ड आईभीआर सेवाः एकैपटक हजारौंलाई भ्वाइस मेसेज पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई एक मिनेटसम्मको रेकर्डेड भ्वाइस मेसेज पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले व्यावसायिक तथा सूचनामूलक सन्देशलाई फोनमार्फत ठूलो संख्यामा प्रयोगकर्तासम्म पुर्‍याउन सकिने गरी आउटबाउन्ड आईभीआर (इन्टरएक्टिभ भ्वाइस सेस्पोन्स) सेवा व्यावसायिक रूपमा सुरु गरेको हो।

नेपाल टेलिकमका अनुसार यो सेवा संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुनेछ। कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको सेवाको माग र उपयोगिता देखिएपछि व्यावसायिक रूपमा उपलब्ध गराएको हो।

आउटबाउन्ड आईभीआर सेवा सामूहिक सूचना प्रवाह प्रणालीका रूपमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। कुनै सूचना, परीक्षा नतिजा, प्रचार–प्रसार तथा प्रवर्धनात्मक सामग्रीलगायतका सन्देश ठूलो संख्यामा व्यक्तिसम्म पुर्‍याउन यो सेवा उपयोगी हुने कम्पनीको भनाइ छ।

यसका लागि सम्बन्धित कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र सन्देश समावेश भएको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि टेलिकमले सम्बन्धित नम्बरहरूमा स्वचालित रूपमा कल गरी रेकर्ड गरिएको सन्देश सुनाउनेछ।

टेलिकमका अनुसार आउटबाउन्ड आईभीआरमार्फत कल प्राप्त हुँदा फोनमा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीका रूपमा देखिनेछ।

यसले विभिन्न संस्था तथा व्यवसायलाई आफ्नै आधिकारिक नम्बरमार्फत ग्राहक, सेवाग्राही वा लक्षित समूहसम्म सूचना पुर्‍याउन सहज बनाउने अपेक्षा गरिएको छ।

हालका लागि यो सेवा लिन इच्छुक संस्था वा ग्राहकले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय, सुन्धाराबाट निर्धारित फाराम भरी आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

ग्राहकले उपलब्ध गराएको नम्बरको सूचीमा प्रणालीमार्फत स्वचालित रूपमा कल गर्न सकिने भएकाले ठूलो संख्यामा व्यक्तिलाई एउटै सन्देश छोटो समयमा पुर्‍याउन सकिने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले विभिन्न संस्था, व्यवसाय तथा सूचना प्रवाहसँग सम्बन्धित निकायबाट यस्तो सेवाको माग आगामी दिनमा थप बढ्ने अपेक्षा गरेको छ।

आउटबाउन्ड आईभीआर सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार