सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५.४४ डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशतले बढी हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) को मूल्य पनि ४.५९ प्रतिशतले बढेर ९९.८० डलर प्रति ब्यारेल पुगेको छ ।
पछिल्ला १० हप्तादेखि जारी द्वन्द्व अन्त्य हुने र स्ट्रेट अफ होर्मुजमार्फत तेल ढुवानी सहज बन्ने अपेक्षामा गत हप्ता तेलको मूल्यमा करिब ६ प्रतिशत गिरावट आएको थियो । तर पछिल्ला राजनीतिक तथा कूटनीतिक घटनाक्रमले बजारमा पुनः अस्थिरता बढाएको छ ।
फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाका अनुसार अहिले तेल बजार भू–राजनीतिक घटनाक्रमप्रति अत्यन्त संवेदनशील बनेको छ । उनका अनुसार वासिङ्टन र तेहरानबाट आउने हरेक अभिव्यक्तिले तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
यतिबेला बजारको ध्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बुधबार हुने बेइजिङ भ्रमणतर्फ केन्द्रित भएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग इरानको विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । चीनले इरानमाथिको आफ्नो प्रभाव प्रयोग गर्दै युद्धविराम र होर्मुज क्षेत्रमा देखिएको अवरोध हटाउन पहल गर्न सक्ने विश्वास लगानीकर्ताहरूले गरेका छन् । साउदी अरामकोका सीईओ अमीन नासेरका अनुसार पछिल्ला दुई महिनामा विश्व बजारले करिब १ अर्ब ब्यारेल तेल गुमाइसकेको छ ।







प्रतिक्रिया