नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (युएई)मा वैदेशिक रोजगारसम्बन्धी मेला ‘युएई जव फेयर’ गर्ने भएको छ । अवुधावी डाइलगको अवसर पारेर फेब्रअरी १५ तारिख (फागुन ३ गते) युएईमा जव फेयर गर्न लागिएको संघले जनाएको छ ।
संघको आह्वानमा सोमबार बसेको विभिन्न घटक व्यवसायी संघका प्रतिनिधिहरुको भेलाले युएईमा जव फेयर गर्ने निर्णय गरेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘युएईमा अलिपछी जव फेयर गर्ने की भन्ने थियो,’ उनले भने, ‘अवुधावी डाइलगको अवसर पारेर सम्बन्धीत सरकारी संयन्त्रको समन्वय र सुझावका आधारमा फेब्रअरी १५ मै जव फेयर गर्ने निर्णय गरियो ।
बैदेशिक रोजगारीमा जाने कामदारहरुको हितलाई मध्यनजर गर्दै बिचौलियाहरु निषेध गरी रोजगारदातासँग सिधा सम्पर्क स्थापित गर्ने उदेश्यले जव फेयर गर्न लागिएको पनि महासचिव भुर्तेलले प्रस्ट पारे । युएईपश्चात युरोपमा पनि जव फेयर गरिने उनले जानकारी दिए ।
संघमा निर्वाचित भएर आएदेखि नै युरोप, मलेसिया र खाडी मुलुमा वैदेशिक रोजगारसम्बन्धी मेला गर्ने योजना बनाइएकोमा पहिलो पटक युएईमा जव फेयर गर्ने अवसर मिलेको उनको भनाई छ । ‘हामीले पहिलो जव फेयर मलेसियामा गर्ने तयारी पनि गरिरहेका थियौं तर दुईचार चरण सम्बन्धीत मुलुक र निकायसँग छलफल भएपनि कामदारको मागमा आएको कमीका कारण उपयुक्त देखिएन,’ महासचिव भुर्तेलले भने, ‘अर्कोतिर अवुधावी डाइलगमा सरकारका मन्त्री, सचिव, वैदेशिक रोजगार महाशाखा प्रमुखलगायत सम्बन्धीत सरकारी संयन्त्र नै युएईमा रहेका बेला जव फेयर गर्नु उचित हुने हाम्रो दूतावासको राय पनि भएकाले मिति तय गरिएको हो ।’
जव फेयरमा युएई सरकारका प्रतिनिधि, ठूला रोजगारदाता कम्पनी, चेम्बर अफ कमर्सलगायत विभिन्न व्यवसायीक संघसंगठनको सहभागिता रहने बताइएको छ । संघले जव फेयरमा सहभागि हुन चाहने इजाजतपत्र प्राप्त व्यवसायीक संस्थाहरुको नामावली संकलन गर्ने तयारी भइरहेकाले छिटो भन्दा छिटो आफ्नो विवरण बुझाउन व्यवसायीलाई आग्रह गरेको छ ।
युएई नेपालीहरुको आकर्षक रोजगार गन्तव्य मध्येको एक हो । चालु आर्थिक बर्षको सुरुवातीबाटै युएई नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालु आवको छ महिनामा झण्डै ८५ हजार नेपाली रोजगारीको लागि श्रम स्वीकृति लिएर युएई पुगेका छन् ।






प्रतिक्रिया