प्रधानमन्त्री प्रचण्डको सम्बोधन- वैदेशिक रोजगारसम्बन्धी कार्य पूर्णरूपमा अनलाइन प्रणालीबाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले सरकार सञ्चालनमा असफलै नभए पनि सोचेअनुरुप परिणाम नआएको स्वीकार गर्दै श्रम तथा वैदेशिक रोजगारसम्बन्धी भएका उपलब्धिहरु उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको एक वर्षमा श्रम र रोजगारसँग सम्बन्धित सीप विकास, उद्यमशीलता, आप्रवासन, रोजगारलगायतका सबै प्रकारका सेवाहरू एकद्वार र एकीकृत रूपमा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट प्रदान गर्न सफल भएको बताए ।

उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई दिइँदै आएको २ वर्षे श्रम स्वीकृतिको सीमालाई परिमार्जन गरी सम्बन्धीत मुलुकको करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था गरिएको बताए । यतिमात्र नभई श्रमिकको सहजीकरणका लागि सम्बन्धीत मुलुक हेर्ने विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्थासमेत गरिएको उनले उल्लेख गरे ।

‘स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रबाट वैदेशिक रोजगारीको क्रममा मृत्युवरण गर्न पुगेका दश हजार ४२ जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ,’ आफ्नो एक वर्षे कार्यकालको उपलब्धी देखाउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अंगभंग वा बिरामी भएका ४१५ कामदारलाई आर्थिक सहायता प्रदान गर्ने र वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका सन्ततिहरूमध्ये दुई हजार ९५६ जनालाई छात्रवृद्धि प्रदान गर्ने कार्यमा सहजीकरण गरिएको छ ।’

सेवाग्राहीले रोजगार सम्बन्धी सम्पूर्ण सेवा आफ्नो स्थानीय तहबाट नै प्राप्त गर्ने बताउँदै वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने वैदेशिक रोजगार सम्बन्धी कार्यलाई पूर्णरूपमा अनलाइन प्रणालीको व्यवस्था गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गई बिचल्लीमा परेका १५६ जना श्रमिकको उद्धार गरिएको पनि बताए । यस्तै वैदेशिक रोजगारीको सन्दर्भमा हुने ठगी लगायतका गुनासाहरू समयमै सम्बोधन नभइरहेको अवस्थामा गर्न इमिडिएट रेस्पोन्स टास्क फोर्स (आईआरटीएफ) गठन गरी कामदारको समस्या तत्काल सुनुवाई गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली (आरआरटी) गठन गरी कामदारहरुको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको उनको भनाई छ । यतिमात्र नभई वैदेशिक रोजगारीमा रहेका वा स्वदेशभित्रै पनि वैदेशिक रोजगारीको नाममा ठगीएका व्यक्तिहरुको समस्या तथा गुनासो सुन्न श्रम मन्त्रालयले चौबीसै घण्टा कल सेन्टर सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले उपलब्धिकै रुपमा वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कार्यस्थलमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि परामर्श उपलब्ध गराउन गत वर्ष चैत्र १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरिएको बताए । साथै स्वदेशमा नै उद्यमशिलता प्रवद्र्धन गर्ने उदेश्यले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम लागू गरिएको बताए ।

उनले चालु आर्थिक वर्षमा २५ हजार व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने लक्ष्यसहित कोशी प्रदेश र मधेश प्रदेशबाट १०/१० गरी २० वटा स्थानीय तहहरू छनौट गरी पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

उनले वैदेशिक रोजगारमा जाने श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्ति, स्वदेशभित्र अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने कार्यको सुरुवात भएको पनि वताए ।

हालसम्म औपचारिक क्षेत्रमा रहेका चार लाख ६४ हजार ७२१ जना, वैदेशिक रोजगारीमा रहेका चार लाख ९४ हजार २९२ जना, अनौपचारिक क्षेत्रमा रहेका ३ जना र स्वरोजगारमा रहेका ३४ जना गरी जम्मा नौ लाख ५९ हजार ५० जना व्यक्ति योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा बताए ।

त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई फराकिलो पार्ने र नेपालीहरुको रोजगारको गन्तव्य युरोप केन्द्रीत गर्ने सरकारको लक्ष्य अनुरुप नेपालले रोमानियासँग गरेको द्विपक्षीय श्रम समझदारी र जर्मनी सरकारसँग दक्ष श्रम आप्रवासन तथा ज्ञान आदान–प्रदानसम्बन्धी संयुक्त घोषणापत्रमा गरिएको हस्ताक्षरलाई प्रधानमन्त्री प्रचण्डले उपलब्धि मानेका छन् । साथै बेलायत सरकारसँग भएको द्विपक्षीय समझदारी पत्रको कार्यान्वयन कार्ययोजना स्वीकृत भई रोजगारीको लागि नेपालीहरुले अवसर पाइसकेको बताए ।

त्यस्तैगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उदेश्यले प्रधानमन्त्रीको अध्यक्षतामा विभिन्न १२ वटा मुख्य श्रम गन्तव्य मुलुकमा कार्यरत राजदूत, महावाणिज्यदूत र सम्बन्धित मन्त्रालय पदाधिकारीको सहभागितामा बैठक बसी सम्बन्धी विभिन्न निर्णयहरू भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार