इक्यानको केन्द्रीय सदस्यमा उद्धव वनको उम्मेदवारी घोषणा, पेशागत निष्ठालाई आत्मसात गर्ने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि उद्धव वनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै वनले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘इक्यानको निर्वाचन २०८२ का लागि संस्थाको उज्ज्वल भविष्य, संस्थागत सुदृढीकरण तथा पेशागत मर्यादाको संरक्षण गर्ने उद्देश्यका साथ दीपक राज भुसालको प्यानलबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दछु,’ उनले भनेका छन् ।

वनले विगत ६ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रूपमा आबद्ध रहँदै आएको भन्दै यस अवधिमा प्राप्त व्यावहारिक अनुभव, जिम्मेवारीबोध र पेशागत निष्ठालाई इक्यानको संस्थागत वृत्ति विकासमा आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीको संस्थापक अध्यक्षसमेत रहेका वनले कन्सल्टेन्सी स्थापना कालदेखि नै गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही र भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आएको उल्लेख गरेका छन् । उनले इक्यानको साधारण सदस्य भएपनि लामो समयदेखि युके डिपार्टमा सदस्यको जिम्मेवारी लिएर महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि स्मरण गरेका छन् ।

वनले केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेमा साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्या, आवश्यकता र सुझावलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याई समाधानमुखी पहल गर्ने बताए ।

उनले इक्यानमा एउटा शसक्त सदस्यको जिम्मेवारी वहन गर्ने अवसर उपलब्ध गराइदिन पनि सम्पूर्ण इक्यानियनहरुलाई भरोसाका साथ अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार