नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि विकल्पराज पोखरेलले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि उपाध्यक्षको दावेदारी प्रस्तुत गर्दै पोखरेलले औपचारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हाल नेपाल इक्यानको केन्द्रीय सह-कोषाध्यक्षको जिम्मेवारीमा रहेका पाखरेलले शैक्षिक परामर्श क्षेत्रको संस्थागत सुदृढीकरण तथा व्यवसायीक हित प्रवर्द्धनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि प्रत्यक्ष संलग्न रहँदै इक्यानमा एक कार्यकाल केन्द्रीय सदस्यको रूपमा काम गरेको अनुभवका साथै हाल सह–कोषाध्यक्ष तथा ट्रेनिङ विभाग संयोजकको जिम्मेवारीमा रहेर संस्थागत सुदृढीकरण, क्षमता विकास र आर्थिक अनुशासनमा योगदान पुर्याउँदै आएको पोखरेलले उल्लेख गरेका छन् ।
नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने साझा अभियानमा आफु विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको पोखरेलले बताए ।
उनले इक्यानलाई व्यक्तिकेन्द्रित संस्था नभई सदस्य–केन्द्रित प्रणालीमा आधारित रहेर सुनिश्चित भविष्यतर्फ उन्मुख संगठनको रूपमा अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएका छन् । इक्यानलाई केवल पदाधिकारी होइन, टीमवर्कमा विश्वास गर्ने, सुन्न सक्ने, समन्वय गर्न सक्ने र निर्णय कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक रहेको पोखरेलको स्पष्ट भनाई छ ।
यतिमात्र नभई आफुलाई इक्यानियनहरुले उपाध्यक्षको जिम्मेवारी दिएमा सम्पूर्ण कार्यसमितिसँग सहकार्य गर्दै इक्यानलाई अझ बलियो, समावेशी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न दृढ संकल्प लिएको पोखरेलले बताए ।
केन्द्र र शाखाबीचको समन्वय मजबुत बनाउने, व्यवसायीक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने, आर्थिक पारदर्शिता कायम राख्ने र ७०० भन्दा बढी सदस्यहरूको व्यवसायिक सुरक्षा, सशक्तीकरण र अधिकारलाई केन्द्रमा राखेर काम गर्नु नै आफ्नो मुख्य दायित्व हुने उनले उल्लेख गरेका छन् । यसका लागि आफुलाई विश्वास गर्न र अमूल्य मत प्रदान गरी उपाध्यक्षको जिम्मेवारी दिन पोखरेलले आम इक्यानियनहरुलाई आग्रह गरेका छन् ।









प्रतिक्रिया