सीप सिकेर खाडी तथा मलेसिया जाने नेपालीको संख्या बढ्दो

सीप सिकेर खाडी तथा मलेसिया नेपालीहरुको संख्या बढ्दो देखिएको छ । वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशत नेपाली खाडी मुलुक र मलेसिया जान्छन् । जसमा ६० प्रतिशत बढी श्रमिकले सीप सिकेर गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । २०७८ देखि हालसम्म श्रम स्वीकृति लिएर १५ लाख ६८ हजार श्रमिक विदेश गएकामा सीप सिकेर जानेको संख्या १० लाख दुई हजार रहेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा मलेसियामा दुई लाख ५९ हजार, कतारमा एक लाख ८४ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) मा एक लाख १२ हजार ७७७ साउदी अरेबियामा एक लाख १२ हजार र कुवेतमा ४३ हजार ५०७ जना गएका थिए ।

सीप सिकेर जानेमध्ये सामान्य सीपमात्र सिक्ने ५५ प्रतिशत, सीप सिकेर अर्धदक्ष बन्ने ८.२ प्रतिशत, व्यवसायिक सीप सिक्ने ०.१३ प्रतिशत र उच्च दक्षको संख्या ०.०२ प्रतिशत छ ।

पछिल्लो समय काम गर्न जानेहरुमा सीप सिकेर जानुपर्छ भन्ने चेतना बढ्दै गएको विभागका महानिर्देशक मदन दाहाल बताउँछन् । उनका अनुसार विश्व श्रम बजारमा दक्ष जनशक्तिको माग पनि बढिरहेको छ, त्यसैले वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानेको संख्या पनि बढ्दै गएको छ ।

त्यस्तै खडी तथा मलेसियालगायत मुलुकले पनि दक्ष कामदारको माग गर्न थालेका कारण सीप सिकेर जाने नेपालीको संख्या बढ्दै गएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

खाडी मुलुक र मलेशियामा पनि सीप सिकेका जनशक्ति माग हुन थालेको छ,’ उनले भने, ‘प्रविधिको प्रयोग र विकासक्रमले श्रमका क्षेत्रमा हिले शिक्षित र सीपयुक्त जनशक्तिको माग बढ्न थालेको छ ।’ सीप सिकेर जानेको संख्या बढे पनि अहिलेको संख्या पर्याप्त नभएको भण्डारीले बताए । राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजारमा माग अनुसारको जनशक्ति उत्पादन बढाउन ध्यान दिनुपर्नेमा भण्डारीले जोड दिए ।

कोरोना महामारीका बेला घटेको विदेश जाने क्रम पछिल्लो ३ वर्षमा लगातार बढिरहेको छ । आर्थिक वर्ष ०७७/७८ मा ७२ हजार ८९ जना मात्र बिदेश गएकामा ०७८/७९ मा ६ लाख ३० हजार र ०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना बिदेश गएका विभागको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार