दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने व्यवसायीहरुको छाता संगठन कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले भोली भदौ २१ गते अर्थात सेप्टेम्बर ६ मा पहिलो ‘कोरियन एजुकेशन फेयर’ गर्दैछ । केक्यानले राजधानीमा आज पत्रकार सम्मेलन गरी संस्थागत रुपमा कोरिया पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै गर्न लागिएको बृहत रुपमा एजुकेशन फेयरको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको छ ।
नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा संचालन हुने फेयरमा २३ भन्दा बढी संस्था (कन्सल्टेन्सी)ले सहभागीता रहने छन् भने ७० बढी काउन्सेलरबाट शैक्षिक परामर्श लिन सकिने बताइएको छ । फेयरमा कोरियाका शिर्ष विश्वविद्यालय र कलेजहरुका बारेमा शैक्षिक परामर्श पाइने केक्यानले उल्लेख गरेको छ ।
यस एजुकेशन फेयरले नेपाली विद्यार्थीहरूलाई कोरियाका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर दिने केक्यानका अध्यक्ष बिष्णु खड्काले बताए । अध्यक्ष खड्काले भोली आयोजना हुने फेयरको सबै तयारी पुरा भएको बताउँदै उच्च शिक्षा अध्ययनको लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुले आवश्यक जानकारी लिन सक्ने बताए ।
‘यो फेयरले केवल शैक्षिक अवसरहरू मात्र होइन, भिसा प्रक्रिया, छात्रवृत्तिसम्बन्धि जानकारी, र आवेदनसम्बन्धी सहयोग पनि प्रदान गर्नेछ । योग्य विद्यार्थीहरूले छात्रवृत्ति पाउने अवसर समेत उपलब्ध हुनेछ,’ उनले भने, ‘विश्वसनीय शिक्षा परामर्श समूहको रूपमा स्थापित केक्यानलेले विद्यार्थी भर्ना, कोर्स मार्गदर्शन, भिसा आवेदन, र उपलब्ध छात्रवृत्तिका सम्बन्धमा तालिम प्राप्त काउन्सिलरमार्फत सेवा प्रदान गर्नेछौं ।’
त्यस्तै केक्यानका निवर्तमान अध्यक्ष गणेश शर्माले विदेशमा पढ्ने योजना बनाएका विद्यार्थीहरूलाई कोरिया उपयुक्त र आकर्षक गन्तव्य हुने बताए । विद्यार्थीलाई कोरियाको शिक्षा प्रणाली र करिअर निर्माणमा आवश्यक जानकारी दिन कोरियन एजुकेशन फेयर भरपर्दो माध्यम हुनसक्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
निःशुल्क प्रवेश पाइने एजुकेशन फेयरमा १५सय बढी विद्यार्थी एवं अभिभावकले सहभागिता जनाउने केक्यानले अपेक्षा गरेको छ । बिहान ९ देखि बेलुका ४ बजेसम्म चल्ने एजुकेशन फेयरमा सहभागिताको लागि पनि आग्रह गरिएको छ ।









प्रतिक्रिया