गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तथा खोज तथा उद्धार कार्यक्षमताको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
देशका विभिन्न क्षेत्रमा आउन सक्ने प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन, खोज तथा उद्धार क्षमता र पूर्वतयारीको अवस्थाबारे जानकारी लिनुभएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालय तथा ललितपुरस्थित नागदहमा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने आधुनिक उद्धार सामग्री, उद्धार बोट तथा खोज तथा उद्धारका लागि आवश्यक विशेष उपकरणहरूको प्रदर्शनीसमेत गरिएको थियो। प्रदर्शनीका क्रममा विपद्का विभिन्न परिस्थितिमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न प्रयोग गरिने सामग्री र उपकरणबारे गृहमन्त्री गुरुङलाई जानकारी गराइएको थियो।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले विपद् आउनुअघि नै आवश्यक तयारीलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विपद्को घटना घटेलगत्तै उद्धार टोली कमभन्दा कम समयमा प्रभावित क्षेत्रमा पुग्न सक्ने गरी जनशक्ति, उपकरण, उद्धार सामग्री तथा आवश्यक व्यवस्थापनलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो।
उहाँले विपद् व्यवस्थापनमा पूर्वतयारी, शीघ्र उद्धार र प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बलको उद्धार क्षमता थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। प्राकृतिक विपद्का बेला नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन र उद्धार कार्यमा उच्च स्तरको तयारी आवश्यक रहेको उहाँको भनाइ थियो।





प्रतिक्रिया