गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक क्षेत्रमा पनि विचलित नभई कर्तव्यपालनामा खटिरहेको बताउनुभएको छ। उहाँले यस्ता संवेदनशील क्षेत्रमा खटिने जनशक्तिलाई समयसापेक्ष आवश्यक तालिम दिनुका साथै स्रोतसाधन सम्पन्न गराउनुपर्नेमा जोड दिनुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले उक्त कुरा बताउनुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय विपद्को जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, पूर्वतयारी, प्राप्त स्रोतसाधनको प्राथमिकीकरण र जनचेतना अभिवृद्धिका लागि प्रचारप्रसारमा ध्यान दिनुपर्ने निर्देशनसमेत दिनुभयो।
सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा बोल्दै गृहसचिव शर्माले सीमामा खटिएका सशस्त्र प्रहरीको स्थानीय जनतासँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले सीमावासीसँगको सम्बन्ध सुमधुर बनाएर काम गर्नुपर्ने बताउनुभयो। सीमा क्षेत्रमा बढ्दै गएको अवैध कारोबार तथा अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै थप सजग भएर परिचालन हुन उहाँले निर्देशन दिनुभयो।
साथै, सुरक्षा निकायहरूबीचको आपसी समन्वयले मात्र फिल्डमा प्रभावकारी कार्यसम्पादन सम्भव हुने उल्लेख गर्दै उहाँले जुनसुकै घटनाको सूचना आदानप्रदान प्रक्रियालाई थप सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। सशस्त्र प्रहरीसँग सम्बन्धित नियमावलीका कमजोर पक्षहरू परिमार्जन गर्न र आवश्यक कानुन निर्माणका लागि मन्त्रालयमा प्रस्ताव पठाउन आग्रह गर्दै गृहसचिव शर्माले संगठनका विद्यमान समस्या समाधान र आवश्यक निर्णयमा मन्त्रालय सधैँ सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गृह प्रशासनमा लामो अनुभव भएका नेतृत्वलाई अभिभावकका रूपमा पाउनु खुसीको विषय भएको बताउँदै प्राप्त नीति–निर्देशनको अक्षरसः पालना गरिने बताउनुभयो। सरकारले सुम्पेको म्यान्डेटअनुसार पूर्ण व्यावसायिकता र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले संगठनको जनशक्ति र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको पूर्ण सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो।
सो अवसरमा गृहसचिव शर्माले विपद् व्यवस्थापनका लागि प्रयोगमा ल्याइएका फायर फाइटिङ, रोप रेस्क्यु, माउन्टेन रेस्क्यु, वाटर रेस्क्यु, डिप डाइभिङ, लाइफ डिटेक्टिङ, कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (CSSR) का उपकरणहरू तथा ड्रोन लगायतका सामग्रीको निरीक्षण गर्नुभएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) कृष्ण ढकालले सशस्त्र प्रहरी बल नेपालको कार्यादेश, साङ्गठनिक संरचना, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजश्व संकलन र सीमा सुरक्षाका चुनौतीबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। निरीक्षण कार्यक्रममा मन्त्रालयका उच्च पदाधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू (AIG) तथा भिडियो स्ट्रिमिङमार्फत देशभरका कार्यालय प्रमुख, अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।





प्रतिक्रिया