बिर्तामोडमा असोज २ देखि ‘इक्यान लिडर्स मिट ३.०’ हुने, ‘झापा घोषणापत्र’ जारी गरिने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गर्ने भएको छ।

झापाको बिर्तामोडमा आगामी असोज २ देखि ४ गतेसम्म आयोजना हुने उक्त कार्यक्रमको आतिथ्य इक्यान झापा शाखाले गर्नेछ। सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले कार्यक्रमबारे जानकारी दिनुभएको हो। देशव्यापी नेतृत्वलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले सुरु गरिएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण चितवन र दोस्रो संस्करण मकवानपुरमा सम्पन्न भइसकेका छन्।

कार्यक्रममा इक्यान केन्द्रीय समिति, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ। तीन दिनसम्म चल्ने कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय शिक्षाका समसामयिक विषयमा गहन प्रशिक्षण तथा अन्तरक्रिया हुनेछ।

नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा विद्यार्थीको विदेश अध्ययन, गन्तव्य छनोट, वैदेशिक विश्वविद्यालयहरूसँगको सम्बन्ध र बदलिँदा अध्यागमन नीतिले यस क्षेत्रलाई थप जिम्मेवार बनाएको आयोजकले जनाएको छ। काठमाडौँमा केन्द्रित शैक्षिक परामर्शका अनुभव र अवसरलाई मोफसलसम्म जोड्दै विकेन्द्रीकृत नेतृत्व निर्माण गर्नु इक्यानको प्राथमिकता रहेको केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले बताउनुभयो। हाल इक्यानमा ७५० भन्दा बढी सदस्य संस्थाहरू आबद्ध रहेका छन्।

सम्मेलनमा ‘ग्लोबल एजुकेसन मोबिलिटी’ मा नेपालको भूमिका र स्थानबारे बृहत् बहस हुनेछ। कार्यक्रमको समापनमा प्राप्त निष्कर्षहरूलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने इक्यान झापाका निर्वतमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो। उक्त घोषणापत्रमा विद्यार्थी हित, नैतिक अभ्यास (Ethical Practice), संस्थागत जवाफदेहिता र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकता दिइनेछ।

यस कार्यक्रमले केन्द्र र शाखाबीचको सम्बन्ध र साझा रणनीतिलाई थप मजबुत बनाउने विश्वास इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले व्यक्त गर्नुभयो। झापा शाखा अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष अशोक भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार