भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट क्षेत्रका जलविद्युत् आयोजनाहरूमा अपूरणीय क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको हकहितमा कार्यरत संस्था (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ११ वटा प्रमुख जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ८६८ भन्दा बढी कामदार र कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्।
बाढीबाट २८१ मेगावाट क्षमताका ८ वटा सञ्चालित र ३८८ मेगावाट क्षमताका ४ वटा निर्माणाधीन गरी कुल ६६९ मेगावाटका आयोजनाहरू प्रत्यक्ष प्रभावित बनेका हुन्।
विनाशकारी बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका साना-ठूला आयोजनाका पावरहाउस, बाँध (हेडवर्क्स) र पहुँच मार्गहरू बगाएको छ। माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट): कोरियन लगानीमा निर्माणाधीन यस आयोजनाका १,४३३ कामदारमध्ये ४९७ जना अझै सम्पर्कविहीन छन्।
हराइरहेकाहरूमा ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिकसमेत छन्। हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने १० जनाको शव फेला परेको छ। रसुवागढी (१११ मेगावाट): सञ्चालनमा रहेको यस आयोजनाका ९३ जना कामदार अझै सम्पर्कविहीन रहेका छन् भने ७ जनाको सकुशल उद्धार गरिएको छ।
चिलिमे जलविद्युत् (२२ मेगावाट): सञ्चालनमा रहेको चिलिमेका ६ जना कामदार सम्पर्कविहीन छन्। ७१ जना कामदारले सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका छन्।
अन्य प्रभावित आयोजनाहरू: लाङटाङ खोला (२० मेगावाट) का ३९ जना, लाङटाङ भोटेकोशी (१२० मेगावाट) का ३ जना र मैलुङ खोला (५ मेगावाट) का ७ जना कामदार अझै बेपत्ता छन्।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका त्रिशूली (२४ मेगावाट) बाट ३ जना, देवीघाट (१४.१ मेगावाट) बाट १ जना र माथिल्लो त्रिशूली-३ ए (६० मेगावाट) बाट ३९ जना कर्मचारी तथा सुरक्षाकर्मी बाढीपछि सम्पर्कविहीन भएका हुन्। यस्तै, निर्माणाधीन माथिल्लो त्रिशूली-३ बी (३७ मेगावाट) का १७८ जना र मिडिल त्रिशूली गङ्गा (१५.६ मेगावाट) का २१ जना कामदारको पनि खोजी जारी छ।
बाढीले आयोजनाका सुरुङहरूमा ढुङ्गा, हिलो र लेदो भरेकाले सुरुङभित्र फसेकाहरूको उद्धार गर्न सुरक्षा निकायलाई निकै सास्ती भइरहेको छ।
माथिल्लो त्रिशूली-१ को अडिट नम्बर ३ बाट सुरुङतर्फ खोजी अघि बढाइए पनि अत्यधिक लेदोका कारण टोलीलाई अघि बढ्न कठिन भएको छ। उता चिलिमे जलविद्युत् केन्द्रको पहुँच सुरुङ १२५ मिटरसम्म सफा गरिसकेपछि भित्र पानी र हिलो माटो भेटिएकाले अहिले पम्पमार्फत डि-वाटरिङ (पानी फाल्ने काम) भइरहेको छ। पानी सुकाएपछि मात्र भारी मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाइने र सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लाग्ने चिलिमेका कार्यकारी निर्देशक बाबुराम महर्जनले जानकारी दिनुभयो।
हाल नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोलीहरू जोखिमपूर्ण अवस्थामै खोजी तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्।





प्रतिक्रिया