भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका ८ (२८१ मेगावाट) र निर्माणाधीन ४ (३८८ मेगावाट) गरी कुल १२ वटा जलविद्युत आयोजना (६६९ मेगावाट) मा गम्भीर क्षति पुगेको छ। यस विपद्मा ११ वटा आयोजनाका कुल ९१९ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन्।
पूर्ण रूपमा क्षतिग्रस्त आयोजनाहरूमा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ का १४३३ कार्यरत जनशक्तिमध्ये ८७८ जनाको उद्धार भएको छ भने ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिकसहित ५४८ जना अझै हराइरहेका छन्।
आइतबार ११० मिटरको तीन डिसेण्डर बासिनमा आइआर ड्रोन, नेपाल आर्मी, नेपाल ड्रोन एसोसिएसन, कोरियाली, शेर्पा र तालिमप्राप्त कुकुरसहित खोजी गर्दा पनि नयाँ व्यक्ति फेला परेका छैनन् । शनिबार भेटिएका दुई शव बाहिर निकालिएको छ। त्यस्तै १११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ९३ जना अझै अज्ञात छन्। विद्युतगृहभित्र माटो र लेदो भरिएको अवस्थामा कोही नभेटिएपछि अहिले शेर्पा टोलीमार्फत घट्टे खोलादेखि टिमुरेसम्म स्थलगत खोजी जारी राखिएको छ।
अन्य आयोजनाहरूतर्फ १२० मेगावाटको रसुवा-भोटेकोशीमा हराइरहेका २ चिनियाँसहित ३ जना अज्ञात रहेकोमा कार्यरत चालकको शव भेटिएको छ भने ५ जनाको उद्धार भइसकेको छ। २० मेगावाटको लाङटाङ खोलामा पेनस्टक पाइप काटेर खोजी गर्दा २ जनाको क्षतविक्षत शव फेला परेपछि (जसको डिएनए परीक्षण गरिनेछ) खोजी बन्द गरिएको छ ।
यहाँका ३९ जना अझै हराइरहेका छन् भने १९ जनाको उद्धार भइसकेको छ। २२ मेगावाटको चिलिमे आयोजनामा ६ जना सम्पर्कविहीन रहेकोमा ७१ जना कार्यरत कर्मचारीमध्ये बाँकीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका छन् भने ५ मेगावाटको मैलुङ खोलाको अवस्था अझै अज्ञात छ।
यसैगरी प्रभावित अन्य आयोजनाहरूमा २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रका ३ जना (२ सुरक्षागार्ड र १ कर्मचारी) सम्पर्कविहीन छन् भने ७० जना सकुशल छन्। १४.१ मेगावाटको देवीघाट जलविद्युत केन्द्रका १ जना सुरक्षागार्ड, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ए का ३९ जना, र १५.६ मेगावाटको मिडल त्रिशूली गङ्गाका २ जना हराइरहेका छन्।
३७ मेगावाटको माथिल्लो त्रिशूली-३बी मा फेवा कन्स्ट्रक्सनका थप १३ जना सम्पर्कमा आएपछि बेपत्ताको संख्या १२८ मा झरेको छ, तर आयोजनाका कर्मचारी, परिवार, परामर्शदाता, सुरक्षागार्ड र इन्टर्नशिपमा गएका इन्जिनियरिङ विद्यार्थीसहित कुल १७८ जना अझै हराइरहेका छन् जहाँ अडिट सुरुङ सफाई गरी मेसिनरी उपकरणमार्फत खोजी तीव्र पार्ने तयारी भइरहेको छ। २५ मेगावाटको नुवाकोट सौर्य विद्युत आयोजना पनि बाढीबाट प्रभावित बनेको छ।






प्रतिक्रिया