उद्धारमा नेपाली सेना : ३ हजार ९७५ जनाको उद्धार

बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। आज  (आइतबार) साँझसम्म प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रहरूमा प्राविधिक, हवाई र जमिनी टोलीमार्फत उद्धार कार्य जारी राखिएको छ। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोली खटिएर पुल निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ।

हवाई उद्धार टोलीले आज मात्रै प्रभावित इलाकाहरूबाट १३ जनाको सकुशल उद्धार गरेको छ भने हालसम्म नेपाली सेनाको हवाई साधनमार्फत ३ हजार ६९८ स्वदेशी र २७७ विदेशी गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिसकिएको छ। विभिन्न जलविद्युत आयोजनाका टनेल तथा पावरहाउसहरूमा समेत खोजी कार्य अघि बढाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा विशेष टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ भने त्रिशूली-३ ए मा सेनाको टोली उद्धार सामग्रीसहित निरन्तर खटिएको छ।

त्यसैगरी त्रिशूली-३ बी को टनेलमा सफाइ गर्दै खोजी जारी राखिएको छ भने चिलिमे हाइड्रोमा विदेशी विज्ञसहितको संयुक्त टोलीले मिनी एक्काभेटर र मड पम्पको सहायताले लेदो पन्छाउने काम गरिरहेको छ। माथिल्लो त्रिशुली-१ मा भने थर्मल क्यामेराको प्रयोग गरी टनेल भित्र थप खोजी भइरहेको छ।

जमिनी स्तरमा मैलुङदेखि स्याफ्रुबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार जारी राखिएको छ। त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलमार्फत हालसम्म ३ हजार२९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजार ३०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भई घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु गर्ने काममा समन्वयात्मक रूपमा खटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार