विपद्को घडीमा आमाबुबालाई राज्यको अभिभावकत्व, हजुरहरूलाई अलपत्र छाड्दैनौँ, राज्य साथमा छ : प्रधानमन्त्री बालेन शाह

बाढी र पहिरोको विनाशकारी चपेटामा परेका नागरिक, विशेष गरी ज्येष्ठ नागरिकहरूप्रति राज्यले आफ्नो पूर्ण दायित्व र प्रतिबद्धता व्यक्त गरेको छ। नुवाकोटको विदुर—१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएसँगै विपद् व्यवस्थापन र उद्धार टोलीमा नयाँ आशा र उत्साह छाएको छ।

अविरल वर्षापछि आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएका बेला प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरू ज्यानको बाजी लगाएर उद्धारमा खटिएका छन्। बाढीको तीव्र बहाव र जोखिमका बिच धेरै आमाबुबाहरूले आफ्ना नातिनातिनालाई च्यापेर ज्यान जोगाउन सफल भएका घटनाहरूले भावुक र साहसी चित्र प्रस्तुत गरेका छन्।

अस्थायी शिविर, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

बाढीका कारण घरबारविहीन भएका तथा वृद्धाश्रमबाट विस्थापित भएका ज्येष्ठ नागरिकहरूका लागि सरकारले सुरक्षित स्थानहरूमा अस्थायी आश्रयको व्यवस्था मिलाएको छ।

 नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण केन्द्र क्षतिग्रस्त भएपछि त्यहाँका ७ जना आमाबुबालाई काठमाडौँको नेपाल सिनियर केयर (म्हैपी) र १७ जनालाई इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। हिँडडुलमा सहजताका लागि ह्वीलचियर तथा वाकरहरू उपलब्ध गराइएको छ। शारीरिक कष्ट र मानसिक आघात (Trauma) कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको छ।

आक्रोश पीडाको अभिव्यक्ति हो, गैरजिम्मेवार टिप्पणी गर्नेमाथि कडा कारबाही

विपत्का बेला आफ्ना प्रियजन र जायजेथा गुमाएका नागरिकहरूको आक्रोशलाई राज्यले स्वाभाविक पीडाको रूपमा लिएको छ। यस्तो संवेदनशील घडीमा पीडितहरूमाथि अनावश्यक वा नकारात्मक टिप्पणी गरी थप पीडा दिनेहरूविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिइएको छ।

साथै, आफ्नो ज्यानको प्रवाह नगरी खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको उच्च मूल्याङ्कन गर्दै उनीहरूको आत्मबल बढाउन सबैमा आग्रह गरिएको छ।

सरकारले विस्थापित आमाबुबा तथा प्रभावित परिवारहरूलाई छिटोभन्दा छिटो सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाउने र यो कठिन मोडमा कसैलाई पनि अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार