सेनाको उद्धार टोलीले सुरुङको २५० मिटरबाट गर्‍यो चिनियाँ नागरिकको जीवितै उद्धार

अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा पुर्‍याएको क्षतिपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा पुनर्स्थापनाको कामलाई तीव्र बनाएको छ। भाद्र २० गते साँझ ७ बजेसम्मको विवरण अनुसार सेनाले विभिन्न जलविद्युत् आयोजना, विकट बस्ती र सडक खण्डहरूमा ९ हजार ३ सयभन्दा बढी जनशक्ति परिचालन गरी उद्धार कार्य जारी राखेको छ।

सङ्कटपूर्ण अवस्थाका बिच माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङबाट उद्धार टोलीले ठुलो सफलता पाएको छ। सुरुङको २५० मिटर भित्री भागमा फसेका एक Lu Haitao चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ भने सोही स्थानबाट २ वटा शव समेत बाहिर निकालिएको छ।

यस्तै, रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसको छैठौँ तलासम्म खोजी गर्दा कोही फेला नपरे पनि बाक्लो लेदोले भरिएको पाँचौँ तला सफा गर्दै उद्धार टोली अघि बढिरहेको छ। त्रिशूली ३ ए, त्रिशूली ३ बी र चिलिमे हाइड्रोमा पनि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विज्ञहरूको संयुक्त टोलीले बबक्याट, मड पम्प र भारी उपकरणको प्रयोग गरी लेदो हटाउने र फसेकाहरूको खोजी गर्ने कार्य निरन्तर गरिरहेको छ।

उद्धार कार्यका क्रममा आज मात्रै हवाई साधनमार्फत दुई विदेशी नागरिक एक अमेरिकी र एक चिनियाँसहित ३९ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ। योसँगै नेपाली सेनाले हवाई साधनमार्फत उद्धार गरेका नागरिकको कूल सङ्ख्या ३ हजार ९९७ पुगेको छ, जसमा २७५ जना विदेशी रहेका छन्।

भौतिक पूर्वाधार पुनः सञ्चालनका लागि नुवाकोटको विदुर ५, देवीघाटस्थित तादी नदीमा ५५ जना सैनिक इन्जिनियरको टोलीले एक्रो ब्रिज जडान गरिरहेको छ। यता मैलुङदेखि स्याफ्रूबेसीसम्म सेनाले स्थलगत गस्ती गरी उद्धार जारी राखेको छ। त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्रबाट आज ३१ जना र हालसम्म कूल ३ हजार २९७ जना प्रभावितले स्वास्थ्य सेवा पाइसकेका छन्।

हाल रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले घाइतेको उद्धार, राहत सामग्री ढुवानी, सडक तथा पुल सुचारु र आपत्कालीन स्वास्थ्य उपचारको काम पूर्ण समन्वयका साथ अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार