विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा सुरक्षा निकाय तथा गैरसैनिक टोलीहरू सम्मिलित संयुक्त फौजले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको आज दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण अनुसार हवाई, जमिनी तथा जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ।
यसै क्रममा आजै नेपाली सेनाका ७ र गैरसैनिक ६ गरी कुल १३ वटा हवाई साधनमार्फत अति प्रभावित इलाकाहरूबाट २९ जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको छ।
जलविद्युत् आयोजनाका सुरुङ तथा परिसरमा फसेका नागरिकहरूको खोजीका लागि प्राविधिक औजारसहितको संयुक्त टोली परिचालन गरिएको छ। त्रिशूली(३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ एवम् नेपाल प्रहरी र प्राविधिक विज्ञ सम्मिलित टोलीले जीवितै उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई तत्काल थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याई उपचार भइरहेको छ भने सोही स्थानबाट एक जनाको शव बरामद गरी थप खोजी जारी राखिएको छ।
यसैगरी त्रिशूली ३ ‘बी’ मा नेपाली सेनाका ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक नेतृत्वको टोलीले आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान गरी खन्ने र माटो पन्छाउने काम गरिरहेको छ। उक्त स्थानमा एक्साभेटर र बबक्याटको प्रयोग गरी अडिट १ बाट ४२६ मिटर भित्र प्रवेश गरिसकिएको छ भने अडिट १ बाट अगाडि बढेर ३ ‘ए’ सँग लिङ्कअप गराउने प्रयास भइरहेको छ। उता लाङटाङ हाइड्रोको टनेलभित्र प्रवेश गरेको नेपाली सेनाका २५ र २ जना गैरसैनिकको टोलीले २ वटा शव फेला पारेको छ।
चिलिमे हाइड्रोमा जेनेरेटर र मड पम्पको सहायताले टनेल र परिसरमा जमेको लेदो फाल्ने काम तीव्र पारिएको छ भने माथिल्लो त्रिशूली १ को हाकुस्थित टनेल क्षेत्रमा नेपाली सेनाका १७ जना र आयोजना प्रतिनिधिहरूले राफ्ट र बोटको प्रयोग गरी खोजी गर्नुका साथै सुरुङभित्र भरिएको पानी बाहिर फाल्ने काम गरिरहेका छन्।
अर्कोतर्फ बाढी र पहिरोले क्षति पुर्याएको नुवाकोटको देवीघाटस्थित तादी नदीमा वैकल्पिक पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ्ग फौजका ५५ जनाको टोली खटिएर बेस निर्माणको काम गरिरहेको छ। यसका लागि गजुरीमा रहेको एक्रो ब्रिजका सामग्रीहरू त्रिशूली पुर्याइसकिएको र बाँकी सामग्री ढुवानीको क्रममा रहेको छ।
प्रभावित क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न जङ्गल, डाँडाकाँडा, खोला किनार तथा बस्तीहरूमा डाक्टर अधिकृतसहितको पैदल गस्ती टोली परिचालन गरी स्थानीयहरूलाई आपत्कालीन स्वास्थ्य सेवा र प्राथमिक उपचार प्रदान गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित इलाकाहरूमा नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भई घाइतेको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्जाल खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचारमा निरन्तर खटिएका छन्।






प्रतिक्रिया