भोटेकोशी बाढीपीडितका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार सहयोग

एसटीसी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको एसटीसी ग्रुपले जनाएको छ।

एसटीसी ग्रुपले नेपालमा आधिकारिक वितरकका रूपमा काम गर्दै आएको भारतीय कम्पनी भेरोक इन्टरनेशनलले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका अनुसार दुवै पक्षबाट प्राप्त सहयोग समेटेर एकमुष्ट ५० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। भोटेकोशी बाढीबाट ठूलो संख्यामा परिवारको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले सरकारको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

उपलब्ध गराइएको सहयोगले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनःस्थापनाका प्रयासमा केही योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

एसटीसी ग्रुप नेपालमा अटोमोबाइलका विभिन्न सामग्री, स्नेहक पदार्थ तथा टायरलगायत उत्पादनको आधिकारिक बिक्री तथा वितरणमा संलग्न छ। ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्य आवश्यक रहेको एसटीसी ग्रुपले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार