भोटेकोशी नदीमा आएको विनाशकारी बाढी लगायतका प्राकृतिक विपद् र दुर्घटनामा परेका बालबालिकाको तस्विर, भिडियो तथा व्यक्तिगत विवरणहरू सार्वजनिक नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकाको असहाय वा संवेदनशील दृश्यहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता सामग्रीले उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने प्रहरीको ठहर छ।
प्रहरीले बालबालिकाको नाम, ठेगाना, विद्यालय र अनुहार खुल्ने सामग्री सार्वजनिक नगर्न तथा असहाय अवस्था देखाएर भाइरल बनाउने वा आर्थिक सहयोग जुटाउने नाममा आत्मसम्मानमा ठेस नपुर्याउन अनुरोध गरेको छ। साथै, पीडित बालबालिकालाई पटक-पटक घटना सम्झाएर अन्तर्वार्ता नलिन, विपद्का बेला फोटो-भिडियो खिच्नुभन्दा उद्धार र उपचारलाई प्राथमिकता दिन तथा भिडियो/तस्विरको मीम वा दुरुपयोग नगर्न पनि अपिल गरिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले ‘बाल मैत्री सञ्चार निर्देशिका, २०७३’ र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै बालबालिकाको पीडालाई प्रचारको नभई संरक्षण र सहयोगको विषय बनाउन सबैमा आह्वान गर्नुभएको छ।






प्रतिक्रिया