भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा जीवन गुमाएका र बेपत्ता भएका सशस्त्र प्रहरीका परिवारजनलाई भेट्न सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल स्वयं घरदैलोमा पुग्नुभएको छ। विपद्को कठिन घडीमा आफ्नो ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका राष्ट्रसेवकहरूप्रतिको यो उच्च सम्मान र अभिभावकीय दायित्वले शोकमा परेका परिवारजनलाई ठूलो ढाडस मिलेको छ।
महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका-१ बरफेदी पुगेर दिवंगत सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। कर्तव्यपालनाको मैदानमा प्राण आहुति दिने कुँवरको योगदान राष्ट्रका लागि सदैव स्मरणीय रहनेछ। साथै, बाढीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारलाई भेटी उहाँले धैर्यधारण गर्न आग्रह गर्दै खोजी कार्यमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभएको छ।
भोटेकोशी बाढीपछि सशस्त्र प्रहरीका १३ जना कर्मचारी सम्पर्कविहीन बनेका थिए। आफन्त र सहकर्मीहरू गुमाउनुको गहिरो पीडाका बीच पनि सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई अहोरात्र जारी राखेको छ। आफ्ना सकलदर्जाका परिवारसँगै उभिएर महानिरीक्षक पौडेलले दिएको यो साथले कार्यक्षेत्रमा खटिएका सम्पूर्ण सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउनुका साथै सङ्गठनभित्रको बलियो भ्रातृत्व र अभिभावकत्वलाई उजागर गरेको छ।






प्रतिक्रिया