सेनाको सक्रियतामा हवाई, टनेल र जमिनबाट खोजी तथा उद्धार जारी

बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले हवाई, जमिन र जलविद्युत् आयोजनाका टनेलहरूभित्र उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। २०८३ भाद्र १८ गते बिहान ११:०० बजेसम्म प्राप्त पछिल्लो विवरण अनुसार प्रभावित इलाकाहरूबाट नेपाली सेनाको हवाई साधनमार्फत थप ६ जनाको सकुशल उद्धार गरिएको छ।

तटस्थ क्षेत्रका जलविद्युत् आयोजनाका टनेलहरूमा फसेकाहरूको खोजीका लागि विदेशी विशेषज्ञ टोलीसहितको संयुक्त टोली निरन्तर खटिएको छ। लाङटाङ हाइड्रोको टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो होल बनाएर खोजी भइरहेको छ भने चिलिमे हाइड्रोमा पनि खोजी कार्य जारी छ। त्रिशूली-३ ए (Trishuli-3A) मा ९३ जनाको टोलीले ५ वटा एक्काभेटर (Excavator) प्रयोग गरी रातभर टनेलको आउटलेटमा जमेको लेदो पन्छाउने क्रममा बिहान २ बजे क्राउन (Crown) ब्लाष्टिङ्ग गरी निकास खुलाउने काम गरेको छ। यस्तै, त्रिशूली-३ बी (Trishuli-3B) मा आयोजनाको कार्यालय र निवास क्षेत्रसम्म पुग्न नेपाली सेना, गैर-सैनिक र आयोजना प्रमुखसहितको टोलीले बोबक्याट (Bobcat) र एक्काभेटरको सहायताले बाटो खन्दै अघि बढिरहेको छ।

जमिनतर्फ जङ्गल, डाँडाकाँडा, खोला किनार र बस्तीहरूमा नेपाली सेनाको पैदल गस्ती टोलीले स्थानीयलाई सुरक्षाको अनुभूति दिलाउँदै डाक्टर अधिकृतहरूमार्फत प्रत्यक्ष स्वास्थ्य सेवा पुर्‍याइरहेको छ। त्रिशूली पारि कोलोनी, तुप्चे, सोले बजार, नुवाकोटका विभिन्न भागहरू तथा स्याफ्रुबेँसी इलाकामा खोजी तीव्र पारिएको छ। सङ्क्रमण फैलिन नदिन नुवाकोटको पिपलटार र देवघाटका होल्डिङ सेन्टरहरूमा सैन्य चिकित्सक टोलीले सचेतनामूलक कक्षाहरू सञ्चालन गरिरहेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) सम्म ९ हजार ३ सयभन्दा बढी सेनाका जवानहरू उद्धार, शव व्यवस्थापन, स्वास्थ्य उपचार र अवरुद्ध सडक सञ्चालनमा प्रत्यक्ष खटिएका छन्।

यसैबीच, प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली र टनेल क्षेत्र लगायतका मुख्य उद्धार स्थलहरूको स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले सबै सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन खटिएका सकलदर्जालाई निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार