रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका एक हजार २०४ जनाको शव बुधबार साँझसम्म फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार साँझ ६ बजेसम्म विभिन्न आठ जिल्लाबाट उक्त संख्यामा शवहरू बरामद भएका हुन्। प्राप्त विवरण अनुसार सबैभन्दा बढी चितवनमा ३४८ र पूर्वी नवलपरासीमा २१७ जनाको शव भेटिएको छ। यस्तै पश्चिम नवलपरासीमा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण मानवीय क्षतिसँगै ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेका छन्। बुधबार साँझसम्म चार हजार २१६ जना मानिस हराइरहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
बेपत्ता हुनेहरूमा ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीका साथै ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै गएका १६४ जना नेपाली समेटिएका छन्। यसैगरी जलविद्युत् आयोजनाका ९०० जना मजदुर तथा कर्मचारी, १४ जना भन्सार कर्मचारी, अध्यागमन, क्वारेन्टीन र राष्ट्रिय निकुञ्जका ३-३ जना कर्मचारी, ७ जना जनप्रतिनिधि, ३२ जना स्थानीय तहका कर्मचारी र १ जना निजी शिक्षक पनि सम्पर्कविहीन छन्।
त्यस्तै नाम संकलन भई पहिचान प्रक्रियामा रहेका नुवाकोटका एक हजार ५५८ जना, रसुवाका ८६५ जना स्थानीयवासीसमेत अझै बेपत्ता सूचीमा रहेकाले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।






प्रतिक्रिया