६ घण्टा पैदल हिँडेर बाढीपीडितको घरदैलोमा राहत पुर्‍याउँदै युवा

नुवाकोट । राहत सामग्री लिएर नुवाकोट पुगेका युवाहरूले रसुवाका बाढीपीडितलाई सहयोग आवश्यक रहेको खबर पाएपछि मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

रसुवाको बेद्रावती–केराबारी क्षेत्रमा बाढीका कारण सडक तथा बाटो अवरुद्ध भएपछि रास्वपा सुदुर पश्चिम प्रदेश कमिटि सदस्य हेमराज जोशी, बिप्लप खड्का, एसआर भट्टसमेतका युवाहले नुवाकोटको विदुरबाट करिब ६ घण्टा पैदल यात्रा गर्दै डोकोमा राहत सामग्री बोकेर प्रभावित बस्तीमा पुर्‍याएका हुन्।

बाढीका कारण सडक सञ्जाल नै अवरुद्ध भएको उक्त क्षेत्रमा राहत सामग्री पुग्न नसकेको र वास्तविक पीडितहरू समस्यामा परेको खबर पाएपछि युवाहरू आफैंले जोखिमपूर्ण यात्रा गर्दै दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री बोकेर पुगेका थिए।

राहत प्राप्त गरेका स्थानीयले अहिलेसम्म कतैबाट पर्याप्त राहत नआएको गुनासो गरेका छन्। बाढीका कारण घर, बाटो तथा आवागमन प्रभावित हुँदा दैनिक जीवनयापनका लागि आवश्यक खाद्यान्नलगायत सामग्रीको अभाव झेल्नुपरेको उनीहरूको भनाइ छ।

युवाहरूले भने विपद्को समयमा राहत केवल सडक पुगेका ठाउँसम्म सीमित हुन नहुने भन्दै वास्तविक पीडितसम्म पुग्न आफूहरूले ६ घण्टा पैदल हिँडेर भए पनि राहत पुर्‍याएको बताएका छन्।

अगुवा युवा हेमराज जोशीका अनुसार बाढी पहिरोका कारण दुर्गम तथा सडक सम्पर्कविहीन बनेका बस्तीमा अझै पनि राहतको आवश्यकता रहेको भन्दै पीडितहरूले सम्बन्धित निकाय, संघसंस्था तथा सहयोगी मनहरूलाई पीडितको वास्तविक अवस्थालाई ध्यानमा राख्दै सहयोग पुर्‍याउन आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार